News Portal

राष्ट्रपति पौडेललाई भारतीय समकक्षी मुर्मुको बधाई

रातोपोस्ट संवाददाता
२५९ पटक

काठमाडौं, २९ फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले बधाई दिएकी छन् । सोमबार पद तथा गोपनीयताको शपथ लिएका राष्ट्रपति पौडेललाई भारतीय समकक्षी मुर्मुले एक पत्र लेखेर नेपालको राष्ट्रपतिमा नियुक्त भएकोमा आफू र भारतीय नागरिकको तर्फबाट बधाई ज्ञापन गरेकी हुन्।

सो पत्रमा उनले भारत र नेपालबीच छिमेकी देशका हैसियतले निकै लामो समयदेखि सौहार्दपूर्ण सम्बन्ध रही आएको र दुई देशका नागरिकबीच जनसम्पर्क महत्वपूर्ण रहेको उल्लेख गरेकी छन् ।

सो पत्रमा भारतीय राष्ट्रपति मुर्मुले भारत र नेपालबीचको निकै पुरानो सम्बन्धमा पछिल्ला केही वर्ष यता उल्लेखनीय प्रगति हुँदै गएको र यसका माध्यमबाट दुवै देशका नागरिकले पारस्पारिक लाभ लिन सकेको उल्लेख गरेकी छन्।

राष्ट्रपति पौडेलको कार्यकालमा उनको नेतृत्वमा भारत र नेपालबीच बहुपक्षीय र बृहत्तर सम्बन्ध थप सुदृढ बन्ने कुरामा आफू विश्वस्त रहेको पनि राष्ट्रपति मुर्मुको सो बधाई सन्देशमा उल्लेख छ। द्विपक्षीय सम्बन्ध र साझेदारीका क्षेत्रमा आगामी दिनमा नजिक रहेर काम गर्न आफू इच्छुक रहेको उनले बताएकी छन्।

प्रतिकृया दिनुहोस्