झापा, २९ फागुन । नेकपा एस निकट अनेरास्ववियूले आफ्नो संगठन दर्ता गर्न नदिएको भन्दै मेची बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा गत फागुन २१ गते लगाएको ताला अखिलको स्वतन्त्र संयुक्त प्यानलका उम्मेदवारहरुले खोलेका छन ।
अखिलको स्वतन्त्र संयुक्त प्यानलका अध्यक्ष पदका उम्मेदवार विशाल गिरीले उक्त ताला खोलेका हुन । ताला खोल्ने क्रममा विशाल गिरीले भने, नेकपा एस निकट अनेरास्ववियू मात्र होइन सम्पुर्ण असन्तुष्ट पक्षका भावनाको प्रतिनिधित्व आफुले गर्ने र असन्तुष्ट पक्षहरुले लगाएको तालाहरु सहमतिमा ल्याएर हजारौ ताला खोलिने छ ।
स्ववियू निर्वाचन कार्यालयमा लगाएको ताला खोल्ने कार्यक्रममा अनेरास्ववियूका झापा जिल्ला अध्यक्ष हरी भट्टराईले आफ्नो संगठनले मेची क्याम्पसको स्ववियु निर्वाचनमा सहभागी हुन नपाए पनि आफ्नो संगठनले खोजे जस्तो सबैको भावना समेट्न सक्ने इमानदार, लगनशील विद्यार्थी नेता बिशाल गिरीको अखिलको स्वतन्त्र संयुक्त प्यानलले उम्मेदवारको रुपमा अघि सारेको हुनाले विशाल गिरीको प्यानललाई समर्थन गर्दै ताला खोलेको उनले बताए ।