झापा, ३० फागुन । अमेरिकामा आयोजना हुने अन्तर्राष्ट्रिय अंग्रेजी भाषा सम्मेलनमा झापाका दुई जना शिक्षक सहभागी हुने भएका छन् ।
अमेरिकाको ओरीगन राज्यको पोर्टल्याण्ड शहरमा यही मार्च २१ देखि २४ तारिखसम्म संचालन हुने टिसोल कन्भेन्सनमा झापा बिर्तामोडका धर्मेन्द्र भट्टराई र जेनी राई सहभागी हुने भएका हुन् । टिसोल (टिचिङ इंग्लिस टु स्पिकर अफ ओदर ल्यांग्वेज) एक विश्वस्तरको अंग्रेजी भाषा शिक्षकहरूको संगठन हो । यसको मुख्य कार्यालय अमेरिकामा छ । विश्वभरका अंग्रेजी भाषाविद, प्रशिक्षक, शिक्षक र शैक्षिक सामग्री उत्पादक कम्पनीको सहभागिता रहने उक्त सम्मेलनमा ३५ सयभन्दा बढीको प्रतिनिधित्व हुने आयोजकले जनाएको छ ।
विश्वका १८४ मुलुक सदस्य रहेको टिसोलमा नेपाल पनि सदस्य राष्ट्र हो । झापा जिल्लाबाट पहिलोपटक उक्त सम्मेलनमा सहभागी हुने अवसर प्राप्त गरेको नेल्टा झापाका अध्यक्ष धर्मेन्द्र भट्टराईले बताएका छन् । उनले यसलाई अंग्रेजी शिक्षकले पाउने अति नै महत्वपूर्ण अवसर भएको पनि बताए ।
नेल्टा झापा जिल्लामा शैक्षिक गतिविधिहरु संचालन गर्दै आएको एक सशक्त स्वयंसेवी संस्था हो । गुणस्तरीय शिक्षक मार्फत गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको सो संस्थाले छोटो समयमै उचाई प्राप्त गरिरहेको छ । यसैवर्ष नेपाल का ५८ शाखालाई उछिन्दै उत्कृष्ट शाखा घोषणा भई नगद २ लाख रुपैयाँको अवार्ड पनि प्राप्त गरेको थियो ।
अमेरिकी सरकारको सहयोगमा नेपाली प्रतिनिधिमण्डलको रुपमा उक्त सम्मेलनमा सहभागी हुन लागेको भट्टराईले जानकारी दिए । भट्टराई नेल्टाका केन्द्रीय सदस्य तथा झापा जिल्ला अध्यक्ष हुन् । उनी दुर्गा माध्यमिक विद्यालय गरामनीमा शिक्षण पेसामा छन् ।
अर्का सहभागी जेनी राई नेल्टा झापा जिल्ला समितिका सदस्य तथा पूर्व एक्सेस शिक्षक हुन् । उनी बिर्तामोडस्थित न्युटन्स एजुकेशन एकाडेमीमा अंग्रेजी विषय अध्यापन गर्छिन् ।
नेल्टा अध्यक्ष भट्टराई यसअघि सन २०१९ मा दुबईमा भएको ग्लोबल टिचर्स अवार्ड सम्मेलन, सन् २०२० मा श्रीलंकामा भएको स्लेलटेक सम्मेलन र सन २०२२ मा भारतको बैंगलोरमा सम्पन्न एशियन एजुकेशन शिखर सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भइसकेका छन् ।