News Portal

लागुऔषध न्युनिकरणका लागि ‘प्रथम प्यारीभिट्टा महोत्सव’

रातोपोस्ट संवाददाता
१६६ पटक

झापा, ५ चैत । ‘प्रथम प्यारीभिट्टा महोत्सव’ आजदेखि सुरु भएको छ । आइतबार प्यारीभिट्टा युवा क्लबको आयोजनामा सुरु भएको महोत्सवको उद्घाटन कोशी प्रदेशका प्रदेश सभा सदस्य गोपाल तामाङले गरेका थिए ।

सांसद तामाङले महोत्सवमा जुवा तास, डाइस, लक्की सेभेन जस्ता खेलहरु मत्र होइन धुमपान, मद्यपान पनि निषेध गर्न आयोजकलाई आग्रह गरे । उनले समाजलाई गलत दिशातर्फ धकेलिरहेको लागुऔषधलाई हटाउन यस किसिमका महोत्सवले ठुलो अर्थ लाग्ने बताए ।

लागुऔषध दुव्र्यसन विरुद्ध सचेतना जगाउँने उद्देश्यले मेचीनगरमा ‘प्रथम प्यारीभिट्टा महोत्सव’ सुरु गरिएको आयोजकले जनाएको छ । महोत्सवमा जुवा तास, डाइस, लक्की सेभेन जस्ता खेलहरु निषेध गरिएको प्यारीभिट्टा युवा क्लबका अध्यक्ष मुक्तिनाथ काफ्लेले बताए । कार्यक्रममा मेचीनगर–७ का वडाध्यक्ष प्रह्लादमणी ओली, लागुऔषध नियन्त्रणमा सक्रिय भिम लुईटेल, सञ्जीव श्रेष्ठ लगायतले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधि, सुरक्षा निकायका प्रमुखहरु लगायत सञ्चारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

महोत्सवमा राष्ट्रियस्तरका ख्यातीप्राप्त कलाकारहरुको वेजोड प्रस्तुती रहने छ । आयोजकका अनुसार महोत्सवमा सोमबार साँझ सारेगम लिटल च्याम्पका प्रितम आचार्य आउँने भएका छन् । महोत्सवमा मनोरञ्जनका लागि रोटे पिङ, ड्रागन लगायतका विभिन्न खेल सामाग्रीहरु पनि राखिएको छ ।

मेचीनगर–७ स्थित नयाँ बसपार्क उत्तर पट्टिको प्लटिङमा सुरु भएको महोत्सव यही चैत २० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । प्यारीभिट्टा युवा क्लबका अध्यक्ष मुक्तिनाथ काफ्लेको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रको स्वागत महोत्सव आयोजक समितिका संयोजक चन्दन गौतमले र सञ्चालन सुमन शर्माले गरेका थिए ।

प्रतिकृया दिनुहोस्