News Portal

केरलामा डुङ्गा डुब्दा २२ जनाको मृत्यु

रातोपोस्ट
१८० पटक

मालापुरम, २५, केरला । भारतमा एउटा पर्यटक डुङ्गा डुब्दा कम्तीमा २२ जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार बताएका छन् । दक्षिणी राज्य केरलाको मालापुरम जिल्लामा कम्तीमा ३० जना यात्रु बोकेको डबल डेकर डुङ्गा दुर्घटनाको थप कारण स्पष्ट हुन सकेको छैन । दर्जनौं मानिसले रातभर आंशिक रूपमा डुबेको डुङ्गा र वरपर बाँचेकाहरूको खोजी सुरू गरेका र खोजी सोमबारसम्म जारी राखिएको थियो ।

एक प्रहरी अधिकारीले एएफपीलाई दिएको जानकारीअनुसार अहिलेसम्म १५ महिला र सात पुरुष गरी २२ जनाको शव निकालिएको छ । ६ जनालाई उपचारका लागि अस्पताल लगिएको छ । उद्धार कार्य जारी छ । स्थानीय प्रकाशन ओन्मानोरमाका अनुसार दुर्घटनामा तीन बालबालिकासहित एकै परिवारका ११ जनाको मृत्यु भएको छ । पति र छोरीसँगै डुङ्गामा रहेकी रजिसाले डुङ्गामा सवार अधिकांश यात्रु बालबालिका रहेको र यात्राका क्रममा डुङ्गाबाट धुवाँ निस्केको बताइन् ।

डुङ्गामा ठोक्किएर घाँटीमा चोट लागेकी रजिसाले भनिन्, ‘हामी लाइफ ज्याकेट लगाएका कारणमात्र बाँच्न सफल भयौं ।’ उनले आफू र आफ्नो परिवारका लागि तीनवटा लाइफ ज्याकेट ल्याइएको र डुङ्गाको माथिल्लो डेकमा रहेका बालबालिकालाई चारवटा ज्याकेट दिइएको बताइन् । उनले ओन्मानोरलाई दिएको जानकारीमा भनिन्, ‘डुङ्गा यात्रामा निस्केको केही समयपछि डुबेको थियो । डुङ्गा डगमगाउन थालेपछि सबैजना एकछेउमा जम्मा भए अनि डुङ्गाबाट मानिस पानीमा खसे ।’

उनले घटनाबारे थपिन्, ‘म मेरो बच्चाको अगाडि लडें र पानीमा डुबें । डुङ्गा पानीमा खसेका मानिसहरूको माथिबाट पल्टियो । डुङ्गामा अधिकांश बालबालिका थिए ।’ एनडीटीभीका अनुसार राष्ट्रिय विपद् प्रतिकार्य बल र भारतीय तटरक्षक बलका कर्मचारीसहित उद्धार टोलीले पानीमुनिको क्यामेरा प्रयोग गरेर हराइरहेकाहरूको खोजी गरिरहेका छन् । राज्यको विपक्षी काङ्ग्रेस पार्टीका राजनीतिज्ञ भीडी सतिसनले दुर्घटना हेलचेक्र्याइँका कारण भएको भन्दै यसको छानबिनको माग गरेका छन् । केरलाका खेलकुद तथा मत्स्यपालनमन्त्री भी अब्दुरहिमानले मृत्यु हुनेमा अधिकांश विद्यालय बिदामा रहेका बालबालिका रहेको बताए । डुङ्गामा करिब ३० जना सवार रहेको प्रहरीले जनाएको छ । रासस/सिन्ह्वा

प्रतिकृया दिनुहोस्