News Portal

नेपालको मुस्लिम समुदाय देशभक्त समुदाय हो : अध्यक्ष ओली

रातोपोस्ट संवाददाता
१०७ पटक

काठमाडाैं, ८ जेठ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको मुस्लिम समुदाय देशभक्त आदिवासी समुदाय भएको बताएका छन् । आज ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा नेपाल मुस्लिम इत्तेहाद सङ्गठनद्वारा आयोजित इद मिलन तथा सङ्घर्षशील आवाजहरु नामक पुस्तक विमोचन कार्यक्रममा मन्तव्य राख्नु हुँदै उनले नेपालको मुस्लिम समुदाय शान्ति प्रिय र देशभक्त आदिवासी समुदाय भएको बताए ।

संविधानसभा सदस्य नजिर मियाँद्वारा लिखित सङ्घर्षशील आवाजहरु नामक पुस्तकका बारेमा धारणा राख्दै अध्यक्ष ओलीले पुस्तकमा लेखकका असाधारण अनुभव, पारिवारिक व्यवहार, पार्टीगत काम, मुस्लिम इत्तेहाद सङ्गठनका प्रसङ्गवश सम्झिएका महत्वपूर्ण विषयवस्तुहरु पुस्तकमा रहेको बताए । उनले मियाँलाई अझ ज्ञानवर्द्धक अर्को पुस्तक प्रकाशन गर्ने प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरे ।

उनले विश्व राजनीतिमा धर्मका नाममा ठूलाठूला आन्दोलन भइरहेको उल्लेख गर्दै सामाजिक न्याय समानता र सद्भावसहित राष्ट्रिय एकतामा केन्द्रित हुनु पर्ने बताए । विमोचित पुस्तकका लेखक संविधानसभा सदस्य नजिर मियाँले पुस्तकमा महामुली गाउँको खेती किसानी गरेको व्यक्तिको जीवनमा घटेका घटनालाई चित्रण गर्न खोजेको बताए ।

नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले पुस्तकमा व्यक्तित्वका विभिन्न आयामलाई प्रस्तुत गरिएको बताए । व्यक्तित्व निर्माणका लागि प्रेरणा प्रदान गर्ने खालको पुस्तक छ । प्रकाशित पुस्तकमाथि टिप्पणी गर्दै अग्रज पत्रकार पुरुषोत्तम दाहालले पुस्तक विमोचनको अवसरले राजनीतिक धार्मिक समन्वय, सुखद अवसर सृजना गरेको बताए ।

प्रतिकृया दिनुहोस्