News Portal

आक्रामक ब्याटर लखिताको लक्ष्य

रातोपोस्ट संवाददाता
११२ पटक

मेचीनगर, ११ जेठ । एउटा नेपाली उखान नै छ, ‘ढुंगाको काप फोरेर पनि उम्रन्छ पिपल ।’ झापा मेचीनगर–८ इटाभट्टाकी क्रिकेट खेलाडी लखिता राजवंशी माथिको उखान भन्ने झैँ ढुंगाको कापमा फोरेर उम्रिएकी हराभरा पीपल हुन् भन्दा फरक पर्दैन । नेपाली महिला टिमकी आक्रामक ब्याटर हुन् लखिता । उनी राजवंशी समुदायकी कोशी प्रदेशकै एक्ली क्रिकेटर पनि हुन् । लखिता राजवंशी समुयाकी छोरी हुन् । यो समुदायबाट बाहिर निस्किएर खेल क्षेत्रमा आउन पनि ठूलै उपलब्धी ठान्नुपर्छ । हो, तिनै लखिता आज समुदायकी आटिली क्रिकेटर बनेर उभिएकी छन् । अभिभावक भनेर दाइ पवनले क्रिकेट खेल्न निरन्तर हौस्याएका छन् ।

ब्याट, बल किनिदिए । यिनको इच्छा थियो, क्रिकेट खेलाडी बन्ने । आफ्नो र देशको नाम चम्काउने । यही इच्छाले उनी क्रिकेटमा मोहित भइन् । ११−१२ वर्षको सानै उमेरदेखि नै दिनरात क्रिकेटमा लागि परिन् । फलस्वरुप लामो समयको मिहेनत पछि उनी नेपाली महिला क्रिकेट प्रदेश टिममा चुनिइन् । यतिखेर भने उनी प्रदेश स्तरीय क्रिकेट खेलमा व्यस्त रहेकी छिन् । अहिले उनी घरमै बसेर इटाभट्टामा रहेको मिलन क्रिकेट क्लबमा आबद्ध भएर क्रिकेट सिकिरहेकी छिन् । पढाइसँगै खेल क्षेत्रलाई पनि अगाडि बढाइरहेकी छिन् ।

झापाको मेचीनगर–८ मा जन्मिएकी लखिता राजवंशी परिवारका जेठी छोरी हुन् । उनका बुवा तिपन राजवंशी किसान हुन् । घर परिवारमा बुवा, आमा, दाइ र बहिनी रहेका छन् । परिवारमा सबैजनाले हौसल्ला दिँदै यसै क्षेत्रलाई अगाडि बढानु पर्छ भनेर भन्ने गरेको उनी बताउँछिन् ।

उनी इट्टाभटामा रहेको आदर्श मावि कक्षा १२ मा अध्यनरत रहेको छिन् । विगत तीन बर्षदेखि क्रिकेट क्षेत्रमा लागेकी उनी छोटै समयमा जिल्ला र प्रदेशमा धेरै खेल खेलेर उपाधि हात पारेकी छिन् । उनी भन्छिन्, ‘म अहिलेसम्मको जुनियर खेलाडी हुँ । मेरो मेहनत र परिश्रमका कारण आज यहाँसम्म पुगेको छु ।’ उनले खेल क्षेत्रमा पनि भविष्य रहेको बताइन् । ‘धेरै मानिसहरुले यो पढ्ने समय हो खेलेर जिन्दगी जान्दैन भन्थे, सुरु सुरुमा मलाई धेरै तनाव भएको थियो । पछि स्कुल र विरु दादाले टे«निङ दिएर हौसल्ला मिल्दै गयो । अनि जिल्लामा चानिएर प्रदेशमा छनोट भएँ ।’

उनी पढेको स्कूलले गर्व गर्छ । किनकी एउटा विद्यार्थीले स्कूलको परिचय फराकिलो बनाई दिएकी छिन् । आदर्श स्कुलका प्रधान्यापक कृष्ण पुरी भन्छन्, ‘लखिता स्कुलको एउटा खेल क्षेत्रको गहना हो । उसलाई हामीले हरेक कोणबाट सहयोग गरिरहेका छौँ ।’ लखिता सहितको टोलीलाई मिलन क्रिकेट क्लब काँकरभिट्टाका अध्यक्ष विरु श्रेष्ठले प्रशिक्षण दिइरहेका छन् । उनकै सहयोगमा क्रिकेट खेलको विकास भइरहेको छ । उनी पढ्ने स्कुलमा पनि कहिलेकाहीँ क्रिकेट टुर्नामेन्ट हुन्थे । लखिता पढाइमा अब्बल थिइनन् तर क्रिकेट भने राम्रो खेल्थिन् ।

लखिता जस्ता थुपै्रलाई क्रिकेटमा भविष्य देखाइरहेका श्रेष्ठले खेलाडीको मेहनत र लगनशीलता जरुरी रहेको बताए । लखिताको खेल प्रदर्शनले सम्भावना देखाइरहेको बताए । क्रिकेटमा लखिताको लगावले भविष्यमा उनलाई लक्ष्यमा पुर्याउने देखिन्छ । उनको लगाव नै क्रिकेटको भविष्यसँग जोडिएको छ । त्यही भएर उनी क्रिकेट मैदानमा आफुलाई सधैँ उभ्याउन चाहन्छिन् । भविष्यमा विभागीय टिमबाट सहभागी भएर आफ्नो र देशको नाम चिनाउन कडा मेहनत गरिरहेकी छिन् ।

प्रतिकृया दिनुहोस्