News Portal

वडामै आइपुग्दैनन् किसानका समस्या”

रातोपोस्ट संवाददाता
३७१ पटक

१. तपाईं वडा अध्यक्षमा निर्वाचित भएको एक बर्ष पुरा भइसकेको छ, यस अवधिमा वडामा के के परिवर्तन भए ? समग्रमा एक वर्ष अवधिमा वडाको विकासका लागि के के गर्नु भयो ?

सर्वप्रथम त मलाई वडाअध्यक्ष जस्तो नेतृत्वदायी तथा जिम्मेवारपूर्ण पदमा बिश्वासका साथ निर्वाचित गर्नुुहुने जनतालाई सम्झन चाहन्छु । यो एक बर्षमा धेरै काम भएका छन् । स्वास्थ्य, शिक्षा, कृषि लगायतका क्षेत्रमा फड्को मार्ने हाम्रा प्रमुख योजनाहरु हुन् । जस अनुरुप हामी कार्ययोजना बनाएर अघि बढिरहेका छौँ । यस अवधिमा वडा कार्यालय व्यवस्थित गरेका छाै ।

कृषकका समस्यालाई सम्बोधन गर्दै दुई जना कर्मचारी राखेर वडाबाटै मकैमा लाग्ने रोगको औषधि, रेबिज विरुद्धको सुई, गाईवस्तुमा लाग्ने नाम्लेको औषधि लगायत वडाबाटै उपलब्ध गराउने व्यवस्था गरेका छौँ भने उक्त औषधिहरु माग अनुरुप निशुल्क वितरण पनि गरिरहेका छौँ । वडामा अहिले पनि नगर, प्रदेश तथा केन्द्रीय सरकार समेतको सहयोगमा करिब १० करोड बजेट बराबरको पूर्वाधार निर्माणका काम भइरहेका छन् । जुन पारदर्शी छन् । कार्यविभाजन गरेर काम गरिरहेका छौँ । म आफु पनि कुनै पनि प्रकारका अनियमितता नगर्ने र गर्नै नहुने भावना बोकेर आएको मान्छे भएको हुनाले कहीँ पनि, कुनै पनि अनियमितता हुनु हुँदैन भन्ने बिश्वास मेरो छ र भएको पनि छैन । हामी पारदर्शी हिसाबले सबै काम गरिरहेका छौँ ।

गरिब, पिछडिएका तथा आर्थिक रुपमा विपन्न परिवारहरुलाई लक्षित गर्दै दुई लाख रुपैँया बराबरको स्वास्थ्य वीमा गरिदिएका छौँ । उपचार अभावकै कारण कोही पनि तड्पिन नपरोस् भन्ने हाम्रो मुख्य उद्देश्य हो । हाम्रा समाजमा आज पनि स्वच्छ खानेपानीकै लागि लड्नुपर्ने अवस्था छ । कतै कतै स्वच्छ खानेपानीको अभाव नहोला तर कहीँ भने खानेपानीकै लागि संघर्ष गर्नुपर्ने अवस्था छ । जसलाई मध्यनजर गर्दै दुई लाख बजेट छुट्याएर खानेपानीको सहजतामा काम गरिरहेका छौँ ।

कृषिमा फड्को मानुपर्छ भन्ने हाम्रो मान्यता हो । जस अनुरुप ६ वटा बोरिङ्ग अहिले निर्माण भइरहेका छन् । जसले कयौँ विगाह जग्गालाई सिँचाई पुर्याउनेछ । कृषकका घरघरमा पुगेर समस्या सुनेका छौँ अनि योजना बनाएर काम गरेका छौँ । वडामा ९ सय ६३ वडाबासीको स्वास्थ्य परीक्षण गर्यौँ । जुन कार्यक्रममा उल्लेख्य रुपमा वडाबासीले साथ दिनुभयो । वडामा खटिनु भएका ७ जना स्वयमसेविकालाई आउजाउमा सहजताका लागि साइकल पनि वितरण गरेका छौँ । समग्रमा जनभावना भन्दा बाहिर नगई सबैलाई समेटेर काम गरिरहेका छौँ र गर्नेछौँ भन्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।

२. बजेट बनाउने बेला भएको छ, बजेटमा आम नागरिकको आवाज सम्बोधन गर्ने गरी कस्ता कार्यक्रम ल्याउन लाग्नु भएको छ ? अनि कहाँ र कस्ता छन् भनेर कसरी पहिल्याउनुभएको छ ?

नागरिकसँग प्रत्यक्ष जोडिने गरी टोल विकास संस्थाहरुसँग समन्वय गरिरहेका छौँ । स्थानीय अगुवा, राजनीतिक दलहरुका प्रतिनिधिहरु लगायत सबैसगँ परामर्श गरिरहेका छौँ । यति मात्र होइन एकपटक सार्वजनिक कार्यक्रम गरेर प्रत्यक्ष रुपमा जनतासगँ पनि छलफल गर्छौँ । कस्ता समस्या छन् ? कहाँ समस्या छन् ? कस्ता कार्यक्रम ल्याउँदा राम्रो हुन्छ ? जनतालाई सोध्छौँ अनि कार्यक्रम बनाउँछौँ ।

अहिलेसम्म भएका कामहरु पनि पारदर्शी हिसाबले चाँडै सार्वजनिक गर्छौँ । हरेक जनताले वडाले के काम गरेको छ र गर्दैछ ? भन्ने जानकारी पाउनुपर्छ । त्यसैले छिट्टै कार्यक्रम गरेर जनतालाई सोध्नेछौँ र जनभावना अनुसार कार्यक्रम बनाउनेछौँ । हामी जनताका प्रतिनिधि हौँ जनता भन्दा बाहिर रहन सक्दैनौँ ।

३. वडामा नागरिकहरु विशेष गरी कस्ता कस्ता समस्या लिएर आउनुहुँदो रहेछ ? यो एक बर्षमा तपाईको अनुभवको चर्चा गरिदिनुहोस् न ?

अधिकांश नागरिकहरु बाटाघाटा, ड्रेन लगायत भौतिक पूर्वाधारका समस्या लिएर आउनुहुँदो रहेछ । सगँसँगै स्वास्थ्यसँग सम्बन्धित समस्याहरु पनि अधिक आउने रहेछन् । तर, अचम्मको कुरा के भने वडामा कृषिसँग सम्बन्धित समस्या भने खासै आएन । किसानका समस्या नै आएनन् । किसानहरु धेरै भएको वडा कृषिमै आश्रित वडा तर कृषिकै समस्या नआउँदा भने अचम्म लागेको छ । खाली मानिसहरु भौतिक विकासका माग लिएर मात्रै आउनुहुँदो रहेछ । यद्यपि कृषिलाई प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेका छौँ । हाम्रो उद्देश्य मध्येको एक नै कृषिमा फड्को मार्ने हो । सोही अनुसार काम गर्दैछौँ ।

४. भर्खर एक बर्ष बित्दैछ, अझ लामो समय छ तपाईंले काम गर्नका लागि । मेरो अवधिमा वडा नं ७ लाई नमुना वडा बनाउँछु भनेर सोच्नुभएको होला नि ?

पक्कै पनि सबैको सोच हुन्छ आफ्नो कार्यकालमा राम्रो काम गर्ने र मेरो पनि छ । यदि राजनीतिले साथ दिएमा, नगर, प्रदेश, यहाँका जनता, अगुवा व्यक्तित्वहरु लगायत सबैले सहयोग गरेमा पाँच बर्षमा वडामा देखिने गरी धेरै परिवर्तन गर्ने नै छु । अहिले पनि बर्षौँदेखि अलपत्र परेको प्यारीभिट्टा बसपार्क सञ्चालनका लागि पहल गरिरहेको छु ।

सबै प्रतिनिधिहरुले साथ दिनुभएको छ । आशा छ अब उक्त बसपार्क चाँडै सञ्चालन गर्न सकिनेछ । यस लगायत सबै तर्फबाट सहयोग भएमा समृद्ध वडा बनाउन सकिन्छ भन्ने कुरामा कुनै दुईमत छैन । म आफ्नो उद्देश्यमा निरन्तर लागिरहेको छु र लागिरहनेछु । सबैले साथ दिनुभएको छ र आशा छ दिइरहनुहुनेछ ।

५. अन्त्यमा तपार्इं पनि एकजना नागरिक हुनुहुन्छ, फरक यत्ति छ हिजो प्रश्न गर्ने ठाउँमा हुनुहुन्थ्यो आज प्रश्नको जवाफ दिने ठाउँमा हुनुहुन्छ । के फरक पाउनुभयो आम नागरिक हुँदा र वडाअध्यक्ष जस्तो जिम्मेवारपूर्ण पद सम्हालिरहँदा ?

धेरै फरक पाएको छु । हिजो भन्दा कहाँ हो कहाँ धेरै जिम्मेवारी थपिएको छ । जवाफदेहिता बढेको छ । हिजो सामान्य नागरिक थिए भने आज हजारौँ जनताको प्रतिनिधि भएको छु । म आफु नै त एकजना व्यक्ति मात्रै हुँला तर सिंगो संस्थाको जिम्मेवारी मसँग छ । नागरिकको कुनैपनि प्रश्नको नरिसाइकन जवाफ दिनुपर्ने अवस्थामा छु । जिम्मेवारी बढेकाले नागरिकले गर्ने अपेक्षा धेरै छन् । समग्रमा हिजो र आजमा धेरै फरक पाएको छु । यद्यपि सबैको साथ सहयोग छ । हातेमालो गरेर अघि बढिरहेको छु । अन्त्यमा फेरि पनि भन्न चाहन्छु, म जनताको प्रतिनिधि हुँ, जनताको आवाज नै मेरो पनि आवाज हो, अहिलेसम्म जनताको साथ पाएको छु, एक रुपैयाँ अनियमितता गरेको छैन, गर्नुहुँदैन र गर्न पनि दिन्न, मेरा लागि जनता नै सबथोक हुन् ।’

प्रतिकृया दिनुहोस्