News Portal

प्रेस क्लबको आयोजनामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

वक्तृत्वकलामा बोल्दै विद्यार्थीले भने ‘गणतन्त्रले सबै नागरिकको मन जित्न सकोस्’

रातोपोस्ट संवाददाता
१६३ पटक

मेचीनगर, १५ जेठ । प्रेस क्लब मेचीनगरको आयोजनामा सम्पन्न वक्तृत्वकला प्रतियोगितामा बाल सुवोधनी मा. वि. मेचीनगर १४ का छात्र रमेश नेपाल प्रथम भएका छन् । ‘गणतन्त्र स्थापनामा प्रेसको भूमिका’ विषयक प्रतियोगितामा अन्य प्रतिस्पर्धीहरुलाई उछिन्दै उनले प्रथम स्थान सुरक्षित गरेका हुन् ।

आदर्श मावि इटाभट्टाको सभाहलमा आयोजित प्रतियोगितामा नगर क्षेत्रका आठ विद्यालयबाट विद्यार्थीहरु सहभागी थिए । जसमा कवि शिरोमणी मा. वि. की छात्रा उषा निरौला द्धितिय भइन् भने एभरेष्ट भ्यू इङलिस बोर्डिङ स्कुलकी सन्ध्या कट्टेल त्रितिय बन्न सफल भइन् । उनिहरुलाई क्रमश नगद तीन हजार, दुई हजार र एक हजारसहित खदा र प्रमाण पत्र प्रदान गरिएको छ ।

गणतन्त्र दिवसको अवसर पारेर मेचीनगरका पत्रकारहरुको साझा संस्था प्रेस क्लब मेचीनगरले गणतन्त्रको संवद्र्धन र रक्षाका लागि समाजमा हुर्किदैँ गरेका विद्यार्थीहरुको सुझाव र पत्रकारिता क्षेत्रले गर्नुपर्ने कार्यहरुबारे जानकारी लिन कार्यक्रमको आयोजना गरेको थियो । जसमा विद्यार्थीहरुले गणतन्त्र प्राप्तीका लागि समग्र मिडिया क्षेत्रले अतुलनिय योगदान गरेको भएपनि गणतन्त्रले भने सबै वर्ग, समुदाय र नागरिकलाई छुन नसकेको धारणा राखे ।

‘अनेकन विद्रोह, संघर्ष पश्चात गणतन्त्र प्राप्त भएपनि यस गणतन्त्रले सबै नागरिकलाई भने छुन सकेको छैन, मजदुरका समस्या उस्तै छन् भने गरीब तथा पिछडीएका परिवारले आजपनि गणतान्त्रिक मुलुकको खासै अनुभुती गर्न सकेका छैनन्, जुन विषयहरुमा आजपनि पत्रकारको कलम अत्यन्तै आवयश्यक छ,’ प्रतियोगितामा बोल्ने अधिकांश विद्यार्थीको आशय यस्तै थियो ।

मेचीनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य मोहन काजी, प्रेस क्लबका पूर्व अध्यक्षहरु मुक्ती पौडेल, सन्तोष आचार्य लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी भण्डारीले हाम्रा विद्यार्थीहरुमा अत्यन्तै धेरै प्रतिभा भएकाले उक्त प्रतिभाहरु प्रस्तुत गर्ने स्थान उपलब्ध गराउनुपर्ने धारणा राखेका थिए । ‘हाम्रा नानीहरु हरेक विधामा पोख्त छन्, जसलाई प्रस्फुटन गराउनका निम्त्ति प्ल्याटफर्मको आवयश्यक्ता छ जुन विषयमा हरेक पक्षले गम्भिर भएर सोच्नुपर्छ,’ कार्यक्रममा बोल्दै उनले भने ।

साहित्यकार तथा शिक्षक मिलनकुमार ढुंगना, काँकरभिट्टा माविकी पूर्व शिक्षक भुवन सुब्बा र सञ्चारकर्मी हरिकृष्ण भण्डारीले निर्णायक मण्डलमा रहेर विद्यार्थी प्रतिभाको मुल्यांकन गरेकाे कार्यक्रममा सहभागी सबै विद्यार्थीहरुलाई प्रमाण पत्र पनि प्रदान गरिएको छ ।

प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्बर बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष जिआर धितालले स्वागत गरेका थिए भने सचिव देबु बानिँयाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्