News Portal

पूर्वी नाका तनावग्रस्त

रातोपोस्ट संवाददाता
३४८ पटक

मेचीनगर, २१ जेठ । नाकामा सुरक्षाकर्मीले कडाइ गरेको भन्दै महिला व्यापारीहरुले काँकरभिट्टामा आन्दोलन गर्दा पूर्वीनाका तनावग्रस्त बनेको छ । विगत केहिदिन देखि पूर्वीनाकामा सशस्त्र प्रहरीले सामान ल्याउनमा अत्यन्तै कडाइ गरिरहेको छ । जसको विरोध स्वरुप वारीपारी गर्ने महिलाहरुले आज काँकरभिट्टामा आन्दोलन गरेका हुन् । आन्दोलनका क्रममा आज काँकरभिट्टाको सुरक्षा चेकजाँच क्षेत्र केहिबेर तनावग्रस्त बनेको थियो भने नाकामा हात हालाहालको स्थिती नै सृजना भएको थियो ।

आन्दोलनका कारण पूर्वीनाकाबाट भित्रने मालवाहक गाडीहरु आवतजावतमा समस्या भयो भने करिब दुई घण्टा नाका नै ठप्प बनेको थियो । थोरैतिनो सामान बोकेर वारीपारी गर्ने नागरिकलाई नाकामा कडाइ गर्न नहुने माग राखेर स्थानीय महिलाहरु आन्दोलनमा उत्रिएका थिए भने राज्यको नीति नियममा रहेर नाकामा कडाइ गरिएको प्रशासनको भनाई थियो । गरिखाने वर्गलाई अनावयश्यक दुख दिँदै आफुहरुको रोजिरोटी नै खोसिदिएको आन्दोलनमा सहभागी महिलाहरुले आरोप लगाएका छन् । तर प्रहरी प्रशासन भने यो आरोप स्वीकार्न तयार छैन । ‘राज्यको नीति अनुसार हामीले कडा गरेका हौँ, भन्सार काटेर सामान ल्याउन हामीले रोकेका छैनौँ र हामीले कसैलाई अनावयश्यक दुख पनि दिएका छैनौँ,’ सशस्त्र प्रहरीका डिएसपी निर्मल थापाले भने ‘राज्यको नियम सबैले मान्नपर्छ ।’

आन्दोलनका क्रममा सयौँ महिलाहरु सहभागी रहेकाले नाकामा भएको आन्दोलन नियन्त्रणमा लिन प्रहरीलाई नै सकस परेको थियो । नेपाल प्रहरीका प्रहरी निरिक्षक होम अधिकारी र सशस्त्र प्रहरीका डिएसपी थापा नै बाक्लो संख्यामा सुरक्षाकर्मी लिएर आन्दोलनस्थलमा खटिएका थिए । अन्तत आज साँझ आन्दोलनरत महिलाहरु, सुरक्षा निकाय र भन्सारका अधिकारीहरुको वैठक बसेर विकल्प खोज्ने सर्तमा आन्दोलन मत्थर भएको बुझिएको छ । दिउँसो तनावग्रस्त बनेको पूर्वीनाका अहिले भने शान्त बनेको छ ।

प्रतिकृया दिनुहोस्