News Portal

धाइजनमा सांगीतिक महोत्सव सुुरु

रातोपोस्ट संवाददाता
३४३ पटक

मेचीनगर, २२ जेठ । स्थानीय क्षेत्रको पहिचानलाई प्रर्वद्धन गर्ने उद्देश्यले मेचीनगरको धाइजनमा आजदेखि धाइजन− दुहागढी सांस्कृतिक तथा सांगीतिक महोत्सव सुरु भएको छ ।

सांगीतिक महोत्सव उद्घाटन कार्यक्रममा प्रमुख अतिथि मेची नगरपालिकाको उपमेयर मिना उप्रेती पोख्रेलले ब्यानर वाचन र पानसमा दिप प्रज्वलन गरी उद्घाटन गरेपछि महोत्सव बिधिवत रुपमा सुरु भएको हो ।

महोत्सव संयोजक सुरेश बुढाथोकीको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा अङ्कित सेक्युरिटी सर्भिस प्रालिका प्रोपाइट बद्री महतलगायतले महोत्सव सफलताको शुभकामना व्यक्त गरेका थिए । नरेश मोहराले स्वागत गरेको कार्यक्रमको संचालन बिष्णु प्रसाईले गरेका थिए । उद्घाटनको दिन टिकट निशुल्क गरिएको थियो ।

जेठ ३१ गतेसम्म सञ्चालन हुने महोत्सवमा स्थानीय क्षेत्रको पहिचान तथा प्रतिष्ठानलाई सहयोग गर्ने उद्देश्य राखेर महोत्सव आयोजना गरिएको महोत्सव संयोजक बुढाथोकीले जानकारी दिए । मेचीनगर−१४ धाइजन चोक उत्तरमा रहेकाे महोत्सवमा २० वटाबढी स्टल रहेका छन् ।

महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइने महोत्सव समितिका सदस्य राजन प्रसाईले बताए । महोत्सव अवधिभर राष्ट्र्रिय तथा स्थानीय कलाकारको दैनिक प्रस्तुति रहनेछ । साँझ ७ बजेपछि सांगीतिक कार्यक्रम आयोजना गरिनेछ । महोत्वसमा चर्चित राष्ट्रिय कलाकार सुगम पोख्ररेल, ज्योति मगर, रचना रिमाल, जिबफ लगायत अन्य कलाकारको बेजोड प्रस्तुति रहने महोत्सवका ठेकेदार गणेश राउतले बताए । महोत्सव प्रवेश शुल्क भने एक सय रुपैयाँ रहेकाे छ ।

महोत्सवमा २३ गते बिन्दु परियार र २४ गते राष्ट्रिय तथा स्थानीय कलाकारको दैनिक प्रस्तुति रहने ठेकेदार गणेश राउतले बताए ।

प्रतिकृया दिनुहोस्