News Portal

फुटबलका ‘ठाकुर’

रातोपोस्ट संवाददाता
११५३ पटक

झापा, १६ असार । सानै उमेरदेखि फुटबलतिर तानिए उनी । घर नजिकै मैदान थियो । त्यही मैदानले झापाको मेचीनगर–१० सुब्बा बस्तीका उदय ठाकुरलाई फुटवलको मोहले घप्लक्कै अँगालो हाल्यो । २०५५ सालदेखि रोलिङ फुटबल क्लबबाट उनले फुटवल खेल्न थाले । तर, कालान्तरमा उनी फुटवल खेलाडी बनेनन् । बरु फुटवल खेलाउने रेफ्री बनेर चिनिए खेलाडीमाझ । शुरुमा ‘खसी कप’ मा रेफ्री गरेका ठाकुरले विस्तारै वडा, नगर हुँदै राष्ट्रिय प्रतियोगिताहरुमा आफ्नो पहिचान बनाएका छन् ।

‘शुरु शुरुमा साथीभाइको अनुरोधमा रेफरी गरेँ’, ठाकुरले सुनाए, ‘पछि त आफैलाई रेफ्री बन्नु पर्ने रैछ भन्ने लाग्दै गयो ।’ २०६७ सालमा एन्फा रेफ्रीको उपाधि लिएका उनले २०७८ सालमा धरानमा भएको मुख्यमन्त्री कपको खेलबाट राष्ट्रिय रेफ्रीको उपाधि पाए । राष्ट्रिय रेफ्रीको उपाधि पाउन्जेलसम्म निकै नै मिहिनेत गर्नु परेको ठाकुरको भनाइ छ । २६ बर्षको उमेरमा एन्फाको रेफ्री कोर्ष उत्तीर्ण गरेका ठाकुर पूर्व राष्ट्रिय खेलाडी तथा रेफ्री एकराज पोखरेललाई ‘आइडल’ मान्छन् । आफुले गरेको मेहनत र अन्य रेफ्री साथीहरुको मायाले गर्दा आफु यहाँसम्म पुगेको कुरा उनी दिल खोलेर भन्छन् ।

प्रतिखेल ५० रुपैयाँ पारिश्रमिकबाट रेफ्री गर्न थालेका उनी अहिले एउटा खेलको ५ हजार रुपैयाँसम्म पारिश्रमिक र भत्ता लिन्छन् । उनी प्रतियोगिता भएका बखत सम्पूर्ण समय प्रतियोगितालाई दिन्छन् । अन्य दिन आफ्नो पुस्तौनी पेशा कपाल काट्ने काम गर्छन् । ‘रेफरीसँगै आफ्नो पुस्तौनी पेशालाई निरन्तरता दिइरहेको छु आफैलाई गर्व लागेर आउछ’, ठाकुर भन्छन् । फुटवल खेलाडीमाझ उनी ‘ठाकुर’ उपनामले चिनिन्छन् । धेरै मेहनत गरेर अहिले यो स्थानमा पुगेको उनले सुनाए ।

प्रायजसो सबै फिफा रेफ्रीहरुसँग एसिस्टेन्ट बनेर काम गरिसकेका अनुभव रहेका ठाकुरले कतिपय प्रतिष्ठित र ठुला प्रतियोगिताहरु पनि सम्हालिसकेका छन् । हालै सम्पन्न दाजिलिङ लिग र यासोक फुट्सल लिगमा समेत ठाकुरले आफ्नो छाप छोडिसकेका छन् । प्रायजस्तो उद्घाटन र फाइनल खेलमा आफ्नो स्थान बनाउन सफल उनले धेरैजसो महत्वपूर्ण खेलमा रेफ्रीको भूमिका निर्वाह गरेर दर्शकको मन जित्न सफल रहेको उनी बताउँछन् ।

आफुले पाएको उपलब्धीबाट रमाएका ठाकुर अझै पनि मेहनत गर्दै जाने र सकेसम्म नेपाली फुटबललाई थप योगदान दिने योजनामा छन् । समय हुँदा रेफ्री बन्न इच्छुक साना–साना भाई बहिनीलाई खेलको नियम सिकाउनुको साथै रेफ्रीको भूमिकाको बारेमा बोल्ने ठाकुर भविष्यमा एकेडेमी खोल्ने सोचमा छन् । उनी भन्छन्, ‘खेल क्षेत्रको वृत्ति विकासमा साना नानीहरुलाई अभ्यास गराएर अगाडि बढाउने योजना छ ।’

उनी लामो समयदेखि खेल क्षेत्रमै आफूलाई सकिनसकी समर्पित गराएका छन् । यद्यपि खेल क्षेत्रको विकासमा स्थानीय सरकारले खासै चासो नदिएकोमा दुखी छन् । उनी भन्छन्, ‘खेलाडी भन्दा माथि रेफ्री हुन्छ । रेफ्रीको भूमिकालाई कसैले नजरअन्दाज गर्न नसक्दा दुःख लागेर आउँछ ।’

प्रतिकृया दिनुहोस्