News Portal

अझै हटेन जोरसिमलको चेकपोष्ट

सुरक्षा निकाय भन्छ ‘नियमित होइन आवश्यक्ता अनुसार चेकजाँच गरेका हौँ’

रातोपोस्ट संवाददाता
३४३ पटक

मेचीनगर, साउन २ । मेचीनगर–७ स्थित जोरसिमलको सशस्त्र प्रहरी बलको चेकपोष्ट अझै हटाइएको छैन । २०७९ साउन २४ गते दुवै पक्षलाई बोलाएर छलफल गरेको उच्च अदालत विराटनगरको इलाम इजलासका न्यायाधीश प्रेमराज कार्की र न्यायाधीश लोहितचन्द्र साहको संयुक्त इजलासले उक्त चेकपोस्ट हराउन अन्तरिम आदेश दिएको थियो ।

पूर्व पश्चिम राजमार्गको काँकरभिट्टा नाका नजिकै रहेको सशस्त्र प्रहरी बलको चेकपोष्ट हटाउन माग गर्दै सन्दीप खनालले उच्च अदालतमा रिट दायर गरेका थिए । ‘जोरसिमल चोक नजिकै राखिएको चेकपोष्ट हटाउन लगाउनु भन्ने माग गरेको सन्दर्भमा रिट निवेदनको अन्तिम सुनुवाइ हुँदाको बखत सम्बोधन हुने हुँदा कानुन बमोजिम सर्वसाधारणलाई चेकजाँचका नाममा दुःख, हैरानी हुने कार्य नगर्नु नगराउनु, निर्वाध रुपमा सार्वजनिक आवागमन गर्न दिनु’ अदालतको आदेशमा भनिएको छ ।

जिल्ला सुरक्षा समिति झापाले २०६८ जेठ २६ गते सुरक्षा जोखिम बढेपछि जोरसिमल क्षेत्रमा चेकपोस्ट राख्ने निर्णय गरेको थियो । चेकपोस्टका लागि २०७४ सालमा स्थानीय दाताहरुले सहयोग स्वरुप दुई कोठे पक्की भवन बनाइदिएका थिए । अहिले पनि उक्त भवनमा ४÷५ जनाको सशस्त्र प्रहरीको टोली डीउटीमा नै रहेका छन् । दिउँसो–राति त्यहि बस्ने गरेका छन् । भवन भएको नजिकै एनएमसी डेरी अगाडी पट्टीको भागमा सशस्त्र प्रहरीले मुख्य सडकमै नियमित चेकजाँच गरिरहेका छन् ।

बीच सडकमै गाडी रोकेर चेकजाँच गर्दा सर्वसाधारणहरुलाई हैरानी भएको छ । केहिदिनअघि सो ठाउँमा स–साना व्यापारीले ल्याएको सामान चेकजाँच गर्ने क्रममा विवाद हुँदा महिला व्यापारी र प्रहरीको सामान्य झडप नै भएको थियो । सो मुद्दामा निवेदकको तर्फबाट बहस गर्ने वरिष्ठ अधिवक्ता असोककुमार पोखरेलले अन्तिम फैसला पनि आइसकेको बताए । दुई महिनाअघि मात्र आएको अन्तिम फैसलामा गतवर्ष गरेको अन्तरिम आदेशलाई नै सदर गरेको उनको भनाई छ ।

उनका अनुसार जोरसिमल मात्रै होइन पूर्व पश्चिम राजमार्गको कुनै पनि स्थानको मुख्य सडकमा सर्वसाधारणलाई दुःख र हैरानी दिने गरी नियमित चेकजाँच गर्न नपाइने फैसलामा उल्लेख छ । यता यस विषयमा बुझ्दा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोष्ट काँकरभिट्टाका प्रमुख डीएसपी निर्मल थापाले जिल्ला सुरक्षा समितिले स्थापना गरेको पोष्ट भएकाले हटाउने विषयमा उसैले निर्णय गर्नुपर्ने भएका कारण निर्णय पर्खिएको बताउनुभयो । ‘जिल्लाको कुरा हो अहिले जिल्लाका प्रमुख (एसपी) साब तालिममा रहनुभएकाले उहाँ आएपछि हटाउने बारे निर्णय गर्नेछौँ,’ उनले भने ‘नियमित रुपमा पोष्ट मै बसेर चाहिँ चेकजाँच गरिएको छैन ।’

बर्षाको सिजन भएकाले काँकरभिट्टाबाट आउनजान टाढा हुँदा बेला बेला मात्रै पोष्टमा प्रहरी बस्ने गरेको उनको दाबी छ । जोरसिमल परिसरमा कहिले काहिँ मात्र आवश्यकता अनुसार चेकजाँच गर्ने गरेको उनले बताए । ‘खुला सिमा पनि छ अर्कोतिर काँकरभिट्टा र जोरसिमल बिच दुरी पनि धेरै छ, त्यसैले अवैद्य कार्यका बारेमा विभिन्न जानकारी आउँछन् सोहि कार्यलाई नियन्त्रण गर्न त्यहाँ आवश्यक चेकजाँच गरेका हौँ । यद्यपी नियमित भने हाइन,’ डिएसपी थापाले भने ।

झापाका मुख्य सडकका विभिन्न स्थानमा सशस्त्र प्रहरी, जनपद प्रहरी, ट्राफिक प्रहरीले चेकजाँकका नाममा सर्वसाधारणहरुलाई दुःख दिने गरेको सर्वसाधारणको गुनासो छ ।

प्रतिकृया दिनुहोस्