News Portal

काँकरभिट्टाबाट सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा भन्सार लाग्ने

रातोपोस्ट संवाददाता
१५६१ पटक

मेचीनगर, ५ साउन । सीमावर्ती भारतीय बजारबाट किनमेल गरेर एक सय रुपैयाँभन्दा बढी मूल्यको वस्तु नेपाल भित्राएमा भन्सार लाग्ने भएको छ । नेपाल सरकारले यहि साउन १ गतेदेखि लागू हुने गरी सो नियम लगाएको हो । मेची भन्सार कार्यालयले जारी गरेको सूचनामा ‘एक सय भन्दा बढी मूल्यको कुनैपनि सामान लिएर भारतको स्थलमार्गबाट नेपाल प्रवेश गर्ने यात्रुहरुले आफ्नो साथमा ल्याएको मालसामानको यस मेची भन्सार कार्यालयको यात्रु शाखामा अनिवार्य घोषणा गरी जाँचपास गराएर मात्र लैजान सूचित गराइन्छ’ उल्लेख गरिएको छ ।

अन्यथा जाँचपास नगराई लगिएको मालसामान भन्सार परिसर भन्दा बाहिर पाइएमा भन्सार ऐन २०६४ बमोजिम चोरी पैठारी कसुरमा कारवाही हुने सूचनामा जनाइएको छ । यसअघि सीमा क्षेत्रका भारतीय बजारमा गरिने किनमेलमा भन्सार अनिवार्य थिएन । यस्तो नियमले सीमा क्षेत्रका नेपाली बजारलाई राहत मिल्ने भन्सारको दावी छ ।

भारतीय बजारबाट विनाभन्सार सामान भित्र्याउँदा स्वदेशी बजार र राजश्व लक्ष्यसमेत घट्दै गएको अवस्थामा उद्योगी व्यवसायीको समेत माग पूरा गर्दै भन्सार नाकामा कडाइ थालिएको छ ।

सीमावर्ती बजारमा हुने अवैध कारोबारलाई निरुत्साहित गर्न पूर्वी नाका काँकरभिट्टामा १०० रूपैयाँभन्दा बढी मूल्यका सामानमा अनिवार्य भन्सार तिराउने भएको छ ।

नगरपालिकामा आज बसेको सर्वदलिय छलफलले नियमलाई अक्षरस पालना गर्दै जाने निर्णय गरेको छ । शुक्रबार मेचीनगर नगरपालका र मेची उद्योग बाणिज्य संघको सहकार्यमा बसेको सर्वदलिय छलफलले १०० रुपैयाँ भन्दा बढीको सामानमा भन्सार तिराउने, बजार व्यवस्थापन र अनुगमन समिति बनाउने लगायतका तीन वटा निर्णय गरेको बताइएको छ ।

मेची नगरपालकाकी उपमेयर मीना पोखरेल उप्रेतीको अध्यक्षता र मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईको सहजिकरणमा छलफल कार्यक्रम भएको थियो ।

मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले केन्द्रको नीति अनुसार यो नियम लागू गरिने बताए । सरोकारवाला पक्षसँगको छलफलपछि यो नियम कडाईका साथ लागू गरिने उनको भनाई छ ।

‘यो नियम अहिले मेची भन्सार कार्यालयमा लागू भएको छैन’, भन्सार प्रमुख रेग्मीले भने–‘अब यो नियम कडाईका साथ लागू गरिने छ ।’

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य गोपाल तामाङले सरकारको नीति, नियम र लेवलको कुरा राम्रो रहेको बताए । उनले यो नियम नाकाबाट सुरुवात गर्न आग्रह गरे ।

‘खुल्ला सीमाना भएका कारण समस्या छ’, सांसद तामाङले भने–‘सीमालाई सुरक्षित र सहज बनाउनु पर्छ । चेकजाँचलाई व्यवस्थित गर्नुपर्छ ।’

कार्यक्रममा मेचीनगर नगरपालिकाका पूर्व मेयर विमल आचार्य, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डीएसपी दिपक भारती, सशस्त्र प्रहरी बल भन्सार राजश्व आउट पोष्टका प्रमुख डीएसपी निर्मल थापा, नेकपा एमाले मेचीनगर इन्चार्ज चन्द्र प्रसाई, माओवादी केन्द्र मेचीनगर अध्यक्ष राजन चिमरिया, नेपाल जनता समाजवादी पार्टीका मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङ, राप्रपका मेचीनगर सचिव विशालकृष्ण बाँस्तोला, समाजसेवी डिल्लीराम घिमिरे, यातायात व्यवसायी विष्णुकुमार श्रेष्ठ, कपिल क्षेत्री लगायतले यो नियमबाट हुने समस्या र समाधानका विषयमा चर्चा गरेका थिए ।

मेची उद्योग बाणिज्य संघका अध्यक्ष प्रसाईले भन्सार प्रमुख रेग्मीलाई ध्यानाकर्षण सहितको ज्ञापनपत्र बुझाएका छन् । सो ज्ञापनपत्र महासचिव दिनेश शाक्यले बाचन गरेका थिए ।

प्रतिकृया दिनुहोस्