News Portal

४९ धारा निर्मित स्थानमा धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना हुँदै

नवराज सुवेदी
५६० पटक

मेचीनगर, १५ साउन । उत्तरी मेचीनगरको गहनाका रुपमा परिचित मनसा नागदेवी ४९ धारा तथा हिले सिमसार क्षेत्रमा नाग पञ्चमीको अवसर पारेर त्रिदिवशिय धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ ।

मनसा नागदेवी ४९ धारा व्यवस्थापन समितीको आयोजनामा यहि भदौ २ गतेदेखि ४ गतेसम्म उक्त कार्यक्रमको आयोजना हुने भएको हो । मनसा नागदेवीको मन्दिरसँगै ४९ वटा धारा निर्माण भएको यस पर्यटकिय स्थल धार्मिक तथा पर्यटकिय हिसाबले मेचीनगरको गहनाका रुपमा परिचित छ ।

उक्त स्थानको इतिहास जनाउँदै सम्पूर्णमा यसको महत्व दर्साउन उक्त कार्यक्रम आयोजना गर्न लागिएको मनसा नागदेवी ४९ धारा व्यवस्थापन समितीका अध्यक्ष महेन्द्र मल्लले बताए । कार्यक्रम अन्तर्गत पहिलो दिन पूजा प्राण प्रतिष्ठान, संस्कृति झल्काउने विभिन्न झाँकीहरु प्रदर्शन गरिनेछ भने भजन किर्तन प्रतियोगिता लगायतका महत्वपूर्ण कार्यक्रम पहिलो दिन आयोजना हुनेछन् ।

यसैगरी दोस्रो दिन राष्ट्रिय स्तरका ख्यातीप्राप्त कलाकारहरुको उपस्थितीमा वृहत सांस्कृतिक कार्यक्रम आयोजना हुनेछ । दोस्रो दिन नै विभिन्न विद्यालयका विद्यार्थीहरुबाट सांस्कृतिक कला प्रस्तुत गरिनेछ । अन्तिम दिन भने नाग पञ्चमी पर्व परेकाले विहानैदेखि नागको पूजा आरधना हुनेछ । यसैदिन युवा पण्डित प्रशान्त न्यौपानेको मुखारविन्दबाट अध्यात्मिक कथा प्रवचन हुनेछ र भजन किर्तनका साथ कार्यक्रमको समापन गरने अध्यक्ष मल्लले जानकारी दिए ।

धार्मिक बिश्वासका हिसाबले सम्पूर्णमाझ लोकप्रिय तथा रमणीय बन्दै गएको यस क्षेत्र मेचीनगर १ को पूर्वी दक्षिणी क्षेत्रमा अवस्थित छ । मेची नदीको किनार छेउमा सुन्दर बनेर सजिएको यहाँ सँधै निश्चल पानी बगिरहने ४९ धारा निर्माण भएका छन् भने मनसा नागदेवीको मन्दिर समेत निर्मित छ ।

नयाँ पुस्तालाई इतिहासबारे जानकारी गराउँदै ‘संरक्षणमा जुट्नुपर्छ’ भन्ने भावना जागृत गराउन सँगै पर्यटकिय स्थललाई सम्पूर्णमाझ चिनाउन आयोजना गरिएको यस विशेष कार्यक्रमले समग्र मेचीनगरकै नाम उच्च बनाउने वडाका जनप्रतिनिधिहरुले समेत बताएका छन् । कार्यक्रम सफल बनाउन वडाको तर्फबाट सम्पूर्ण रुपमा सहयोग गर्ने समेत जनप्रतिनिधिहरुले प्रतिवद्धता जनाएका छन् ।

प्रतिकृया दिनुहोस्