News Portal

घरेलु कामदारलाई बलात्कार गर्ने सडक डिभिजन दमकका पूर्वप्रमुख इन्जिनियर पोखरेल थुनामा

रातोपोस्ट संवाददाता
१६७ पटक

झापा, १४ भदाै । घरेलु कामदारलाई जबरजस्ती करणी गरेको अभियोगमा सडक डिभिजन कार्यालय दमकका पूर्व प्रमुख इन्जिनियर हरिकुमार पोखरेललाई काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

यही भदौ ८ गते न्यायाधीश भोलानाथ ढकालको इजलासले सो आदेश दिएको हो ।मध्यपहाडी लोकमार्ग आयोजनाको निर्देशक रहेका बेला पोखरेलले घरेलु कामदारलाई जबरजस्ती करणी गरेको आरोप लागेको हो । उनी २०६४ सालतिर सडक डिभिजन कार्यालय दमकको कार्यालय प्रमुख रहेका थिए ।

पीडितलाई डरधम्की देखाई प्रलोभनमा पार्न खोजेका रामजी भन्ने चेतन न्यौपाने र रन्जितकुमार जैसवाललाई जनही तीन लाख पचास हजार रुपैयाँ धरौटीमा रिहा गरेको छ । पीडितले आफूमाथि भएको बलात्कारजस्तो जघन्य अपराधविरुद्ध मुद्दा मामिला थालेपछि न्यौपाने र जैसवाललगायतले प्रलोभनमा पारेर मिलापत्र गर्न दबाब दिएका थिए । उनीहरू विरुद्ध पनि पीडितले प्रहरीमा जाहेरी दिएकी थिइन् । मुद्दा फितलो बनाउन र मिलापत्र गर्न प्रयास गरेका भोजराज रेग्मी र अमन तामाङ भने फरार छन् । उनीहरूको खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ ।

रामेछाप घर भएकी पीडित भूकम्पपछि काठमाडौँ आएर सफाइको काम गर्थिन् । सोही क्रममा गत वर्ष सिनामंगलस्थित पोखरेलको घरमा काम पाइन् । सफाइ गर्न गएको बेला पीडितलाई पोखरेलले पटक—पटक जबरजस्ती करणी र यौन दुर्व्यवहार गरेका थिए । माफी दिएर पोखरेलको हर्कत नसुध्रिएपछि असार १७ गते पिंगलास्थानस्थित माइती नेपाल कार्यालय पुगेकी थिइन् ।

माइती नेपालले महानगरीय प्रहरी वृत्त गौशालामा पठाएको थियो । असार १८ गते उनी जाहेरी लिएर गौशाला वृत्त पुगेपनि जाहेरी नलिएपछि जिल्ला प्रहरी परिसर काठमाडौँ (टेकु) र कालीमाटी महिला सेल गइन् । टेकु प्रहरी र कालीमाटी महिला सेलले पनि सुरुमा वास्ता गरेनन् । साउन ५ गते मात्रै टेकु प्रहरीले जाहेरी दर्ता ग¥यो । साउन ८ गते जिल्ला अदालत काठमाडौँले पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी गर्‍यो । यसपछि फरार भएका पोखरेललाई साउन १२ गते प्रहरीले पक्राउ गरेपछि मुद्दा प्रक्रिया अगाडि बढेको थियो । पोखरेललाई थुनामा नपठाएसम्म मिलापत्र गर्न पीडक पक्षले पीडितलाई दबाब दिँदै आएका थिए । सरोकारवाला निकायमा धाउन थालेको ५५ दिनमा पोखरेललाई थुनामा पठाइएपछि केही हदसम्म न्यायको महसुस भएको पीडितले बताइन् ।

प्रतिकृया दिनुहोस्