News Portal

डेंगु जाँच्ने किटमै जालझेल !

सर्वसाधारण चर्को मुल्य तिरेर परीक्षण गराउन वाध्य

नवराज सुवेदी
२५१ पटक

मेचीनगर । मेचीनगर–४ आमडाँगीका शेखर खनालका ६३ बर्षिय ससुरालाई अचानक अत्याधिक ज्वरो आयो । लक्षण अनुसार डेंगु भएको पो हो कि ! भन्ने आशंका लागेर ससुरालाई लिएर स्वास्थ्य चौकी बाहुण्डाँगी पुगे ।

तर, चौकी पुगेपछि उनी निरास बने । किन कि स्वास्थ्य चौकीमा डेँगु परीक्षणका लागि चाहिने किट नै थिएन । ‘डेंगु जचाउँन स्वास्थ्य चौकी लगेको यहाँ त किट नै छैन भन्छन्’, खनालले गुनासो पोखे, ‘अब त डेँगु जाँचेको ५ सय रुपैँया पो लाग्छ रे ! सरकारी स्वास्थ्य चौकीमा त निःशुल्क परिक्षण हुनुपर्ने होइन र ?’

खासमा डेंगु परीक्षणका लागि सरकारले निशुल्क रुपमा किट उपलब्ध गराउने प्रतिवद्धता जनाउँदै आएको छ । तर, स्वास्थ्य चौकीहरुमा किट नै छैन । अचम्मको कुरा के भने किट कहिले आउँछ भनेर कोहीपनि कर्मचारीलाई थाहा छैन । परीक्षणका लागि आउने सर्वसाधारण किट अभावमा परीक्षण नै नगराइ फर्कन वाध्य छन् । कतिपय भने निजी क्लिनिकहरुका चर्को शूल्क तिरेर डेंगु परीक्षण गराउन वाध्य छन् ।

स्वास्थ्य चौकीका इन्चार्ज तालबहादुर खड्का नगरबाट किट नआएको हुनाले किट अभाव भएको बताउँछन् । अब किट कहिले आउँछ ? यसबारे स्वास्थ्य चौकीका सवै कर्मचारी वेखवर छन् । स्वास्थ्य चौकीकै अर्का कर्मचारी संकेत भण्डारीका अनुसार अहिलेसम्म बाहुण्डाँगी स्वास्थ्य चौकीमा १५ वटा किट लगिएको हो । उक्त सबै किट परिक्षण गरेर सकिएको ल्याबमा कार्यरत उनी बताउँछन् ।

जसमध्ये ५ वटा किटको चाहिँ परीक्षण शूल्क नलिएको उनको दाबी छ । स्वास्थ्य चौकीमा सर्वसाधारण पुग्ने बित्तिकै त्यहाँ सोधपुछ कक्ष छ । जहाँ सोध्ने बित्तिकै त्यहाँका कर्मचारी भन्छन् ‘अहिले किट छैन । किट आएपछि परीक्षण गर्न आउनु । परीक्षण गरेबापत् ५ सय रुपैँया शुल्क लाग्छ ।’ नगरले निःशुल्क परीक्षण भनेको डेंगु परीक्षण गर्न ५ सय रुपैँया शुल्क लाग्छ भनेर बताउने उक्त कर्मचारीहरुलाई किट कहिले आउँछ ? भन्ने चाहिँ कुनै जानकारी छैन ।

उत्तरी मेचीनगर अन्तर्गत १, २, ३ र ४ वडालाई लक्षित गरी डेंगु परीक्षणको व्यवस्था मिलाइएको स्वास्थ्य चौकी बाहुण्डाँगीको यथार्थ अवस्था हो यो । जहाँ नागरिकहरु डेंगु परीक्षणका लागि पुग्न त पुग्छन् तर, त्यहाँ परीक्षण नभएपछि निजी क्लिनिक तिर सोझिन्छन् ।

यो त भयो बाहुण्डाँगीको अवस्था । पछिल्लो समय नगरमै सबैभन्दा धेरै मात्रामा डेंगगु फैलिएको मेचीनगर–६ मा रहेको स्वास्थ्य चौकीको अवस्था त झन् यो भन्दा बेहाल छ । अस्पतालमा बिरामीको चाप छ । चिकित्सकहरुलाई भ्याइनभ्याइ छ । डेंगु परीक्षण गर्न किट नै छैन । करिब ४० हजार जनसंख्या बस्ने वडामा रहेको स्वास्थ्य चौकी काँकरभिट्टामा अहिलेसम्म १५ वटा मात्रै किट लगिएको तथ्यांक छ । उक्त सबै किट परीक्षण गरेर सकिएको स्वास्थ्य चौकीका इन्चार्ज लेखनाथ खतिवडा बताउँछन् ।

‘नगरले किट नै पठाएको छैन । ५–६ दिनअघिदेखि किट अभाव भएको हो, अहिले परीक्षणका लागि आउने सर्वसाधारणलाई बाहिर पठाउनुपर्ने अवस्था छ,’ स्थलगत रुपमा पुगेको रातोपोस्ट पत्रिकाका प्रतिनिधिसँग उनले भने । सबैभन्दा अचम्मको कुरा के पनि छ भने स्वास्थ्य चौकीको ठिक अगाडी पट्टी छ निजी क्लिनिक ‘हरेराम फार्मेसी’ । जहाँ निर्वाध रुपमा ८ सय रुपैँया शूल्क लिएर दिनकै २० देखि २५ जनासम्मको डेंगु परीक्षण भइरहेको छ ।

किट अभावमा स्वास्थ्य चौकीबाट फर्किएका सर्वसाधारण यहि फार्मेसीमा आएर परीक्षण गराउने गरेका छन् । ‘स्वास्थ्य चौकीमा त कहिले परीक्षण नै हुँदैन, त्यहाँ आउने सबैले परीक्षण गर्ने यहिँ हो । ८ सय रुपैँया लाग्छ परीक्षण गरेको,’ ग्राहक शैलीमा पुगेका हामीलाई देखेर क्लिनिकमा रहेका एक कर्मचारीले भने । उनको भनाईले पनि पुष्टि हुन्छ कि आम सर्वसाधारण महँगो शूल्क तिरेरै डेंगु परीक्षण गर्न बाध्य छन् ।

‘निशुल्क परीक्षणको व्यवस्था मिलाइएको भनेको स्वास्थ्य चौकीमा परीक्षणका लागि किट नै हुँदैन । जसका कारण महँगो शूल्क तिरेर परीक्षण गर्नुको शिवाय सर्वसाधारणसँग अरु के विकल्प छ र ?,’ मेचीनगर ६ काँकरभिट्टाका एक स्थानीयले भने । स्वास्थ्य चौकीमा किट नभएपछि काँकरभिट्टाका मनिषा, भरोसा लगायतका औषधि पसलमा एक हजार रुपैयाँ तिरेर सर्वसाधारण डेँगु परीक्षण गर्न वाध्य छन् ।

केहि समयअघि मेचीनगर नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख सविता सापकोटासँग हामीले नगरमा डेंगु फैलन नदिन के छ तयारी ? भनेर प्रश्न गर्दा उनले सम्पूर्ण व्यवस्था राम्रो भएको आशयका साथ जवाफ दिएकी थिइन् । उनको अन्तरवार्ता यसअघिको पत्रिकामै छापिएको छ । तर, स्थलगत रुपमा हामी पुग्दा भने उनले भने भन्दा नितान्त फरक अवस्था रहेको पाइयो ।

यस बारेमा बुझ्दा उनी डेंगु जाँच्ने किट अभाव भएको स्वीकार्छिन् । जिल्लाले आवश्यक परेजति किट उपलब्ध नगराएकाले अभाव भएको उनको भनाई छ । यद्यपी जिल्लाले अब ५० वटा किट पठाउने जानकारी आएको र नगरले पनि एक सय वटा किट खरिद गर्ने निर्णय गरेकाले अब चाँडै किट अभावको समस्या हल हुने उनको भनाई छ । ‘किट अभाव नै छ, जसका कारण सर्वसाधारण महँगो शूल्क तिरेर जचाँउन वाध्य छन् । अब जिल्ला र नगरबाट किट उपलब्ध भएपछि भने अवस्था सहज हुन्छ’, उनी भन्छिन् ।

नगरको दक्षिणी क्षेत्रलाई लक्षित गर्दै मेचीनगर १५ ज्यामिरगढीमा डेंगु परीक्षणको व्यवस्था मिलाइएको छ । काँकरभिट्टा र बाहुण्डाँगीको भन्दा ज्यामिरगढीमा भने अवस्था केहि सहज रहेको पाइयो । स्वास्थ्य चौकी ज्यामिरगढीका इन्चार्ज प्रदिपकुमार गुप्ताका अनुसार नगरबाट डेंगु परिक्षणका लागि ३० वटा किट लगिएकोमा २० वटा परीक्षण गरेर सकिएको छ भने १० वटा बाँकी छ । ‘डेंगु परीक्षणका लागि आउने सर्वसाधरणलाई फर्काइहाल्नुपर्ने अवस्था चाहिँ छैन । १० वटा किट हामीसँग स्टक छ । प्लेटलेट्स लगायत अन्य परीक्षणको एक सय रुपैयाँ शूल्क लिएपनि किटको भने शूल्क लिएका छैनौँ’, उनले भने ।

यता प्राथमिक स्वास्थ्य चौकी धुलाबारीमा पनि डेंगु परीक्षणको व्यवस्था छ । यहाँ पनि डेंगु परीक्षण गर्दा आवश्यक किटको कुनैपनि शूल्क नलिएको चिकित्सकहरु बताउँछन् । तर, धुलाबारीमा नगरबाट कति मात्रामा डेंगु जाँच्ने किट लगियो ? भन्ने यकिन तथ्यांक छैन । ‘हामीले डेंगु परीक्षण गर्दा कसैसँग पनि किटको शूल्क लिएका छैनौँ, निशुल्क व्यवस्था गरिएको छ,’ स्वास्थ्य केन्द्रका इन्चार्ज आशिष निरौँला भन्छन् ।

विरामीको अत्यन्तै चाप रहने यस स्वास्थ्य केन्द्रमा नगरबाट कति मात्रामा डेंगु जाँच्ने किट ल्याइयो ? भन्ने प्रश्नमा उनले भने ‘आवश्यक परेका बेला क्रमिक रुपमा ल्याइएको छ, सबै जोडेर भन्नुपर्छ । त्यहि ४०–५० वटा आयो होला !’ उनको अनुमान छ । नगरबाट ल्याएको बाहेक एक सय वटा किट स्वास्थ्य केन्द्र आफैले किनेको समेत उनले जानकारी दिए ।

नगरपालिकाको स्वास्थ्य शाखाले उपलब्ध गराएको जानकारीमा अहिलेसम्म ३० वटा मात्रै डेंगु परीक्षण गर्ने किट स्वास्थ्य कार्यालय झापाबाट नगरलाई प्राप्त भएको तथ्यांक छ । जसमा नगरले पनि एक सय वटा किट खरिद गरेको देखिन्छ । नगरले अहिलेसम्म स्वास्थ्य चौकी बाहुण्डाँगीलाई २०, काँकरभिट्टालाई २५, धुलाबारीलाई २०, धाइजनलाई १०, ज्यामिरगढीलाई २१, आधारभुत स्वास्थ्य केन्द्रलाई १५ र दुवागढीलाई १० वटा किट उपलब्ध गराएको जनाएको छ ।

जुन तथ्यांक हेर्दा नगरपालिकाको स्वास्थ्य शाखाले दिएको र विभिन्न स्वास्थ्य चौकीले दिएको तथ्यांक आफैँमा बाझिन्छ । जस्तैः काँकरभिट्टा स्वास्थ्य चौकीले नगरबाट अहिलेसम्म १५ वटा मात्रै किट प्राप्त भएको बताएको थियो यता नगरले २५ वटा किट पठाएको भनेर जानकारी दिएको छ । यसैगरी ज्यामिरगढीले ३० वटा किट नगरबाट प्राप्त भएको बताउँछ तर नगर भने अहिलेसम्म ज्यामिरगढीमा २१ वटा मात्रै किट गएको तथ्यांक देखाउँछ ।

यसैगरी, स्वास्थ्य कार्यालय झापासँग बुझ्दा उक्त कार्यालयले पनि मेचीनगर नगरपालिकालाई अहिलेसम्म ८० वटा मात्रै किट पठाएको जानकारी दियो । एक पटक ३० वटा र मंगलबार थप ५० वटा किट मेचीनगरलाई पठाएको कार्यालयले जानकारी दिएको छ । स्वास्थ्य कार्यालयलाई नै भनेजति किट प्राप्त नभएको हुनाले सबै पालिकालाई पठाउँदा आवश्यक परेजति पुग्न नसकेको कार्यालय अन्तर्गत स्टोरमा कार्यरत कर्मचारी विशाल घिमिरे बताउँछन् । ‘स्वास्थ्य कार्यालयलाई पनि जति आउँछ त्यति मात्रै त पठाउने हो, त्यसमाथि पनि सबै पालिकालाई पुर्याउनुपर्छ ।’ उनी भन्छन् ।

प्रतिकृया दिनुहोस्