News Portal

चिकित्सक आन्दोलनको प्रभाव: सर्वसाधारण स्वास्थ्य संस्था पुग्छन् सेवा पाउँदैनन्

नवराज सुवेदी
३८३ पटक

मेचीनगर । मेचीनगर १५ का ६३ बर्षिय शेरबहादुर विष्ठ नाती विरामी भएका कारण स्वास्थ्य वीमाको रिफर लिन प्राथमिक स्वास्थ्य केन्द्र धुलाबारी आइपुगे । सधैँ झैँ स्वास्थ्य संस्था खुल्ने समयमा आइपुगेका उनी आज भने छक्क परे । कारण– स्वास्थ्य केन्द्र बन्द थियो डाक्टरहरु कोहीपनि थिएनन् ।

१४ बर्षिय नाती विरामी भएपछि रिफर लिन आएका उनी सेवा नै नलिई फर्किए । ‘सेवा लिन आएको यहाँ त बन्द पो रहेछ, हामीले सेवा पाउनुपर्ने होइन र ?’ स्वास्थ्य केन्द्र बन्द देखेर निरास बनेका उनले भने, ‘यसरी त दुख पाउने सर्वसाधारण ले नै हो ।’

गत बुधबार हेटौंडाको सन्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि बिरामीका आफन्तहरूबाट भएको कुटपिटको घटनामा संलग्नहरूलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै आज चिकित्सक संघको आह्वानमा डाक्टरहरु आन्दोलनमा छन् ।

जसको प्रभाव मेचीनगरमा पनि परेको हो । जसले गर्दा मेचीनगर १५ का विष्ठ जस्तै कयौँ सर्वसाधारण अलपत्र परेका छन् । प्राथमिक स्वास्थ्य केन्द्र धुलाबारीबाट मात्रै विहानदेखि सयौँका संख्यामा सर्वसाधारणहरु सेवा नै नलिइ फर्किएको स्वास्थ्य केन्द्रमा कार्यरत एक कर्मचारीले जानकारी दिए ।

स्वास्थ्य केन्द्रको मुल गेटमा एउटा सूचना टाँसेर सेवा बन्द गरिएको छ । उक्त सूचनामा भनिएको छ ‘नेपाल चिकित्सक संघको प्रेस विज्ञप्तीको भदौ ३० गतेको निर्णय बमोजिम आइतबार १ दिन देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठान लगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक सेवा बाहेक अन्य सम्पूर्ण सेवाहरु बन्द गर्ने जानकारी गराइन्छ ।’

अर्थात चिकित्सक संघको आन्दोलनको प्रभाव देशैभरका स्वास्थ्य संस्थामा परेको छ । जसले सर्वसाधारणलाई सास्ती दिएको छ । स्वास्थ्य संस्थाहरुले ओपीडी सेवा बन्द गरेका कारण नयाँ र फलोअपका लागि अस्पताल पुगेका बिरामी उपचार सेवा पाउनबाट वञ्चित छन् ।

मेचीनगर मै रहेको अर्को अस्पताल मेची आम्दा अस्पतालमा पनि आकस्मिक बाहेकका सेवा बन्द छ । तर, त्यहाँ भने ओपिडिमा आउने विरामीहरुलाई समेत आकस्मिक कक्षमा लगेर सेवा दिइरहेको पाइयो । तर, प्राथमिक स्वास्थ्य केन्द्र धुलाबारीमा भने सेवा लिन आउने सम्पूर्ण सर्वसाधारण गेटबाटै फर्किरहेका छन् ।

प्रतिकृया दिनुहोस्