News Portal

मेची कृषक सहकारीले बेच्यो अनुदानको मल बढी मूल्यमा

नवराज सुवेदी
७६८ पटक

मेचीनगर, ३१ भदौ । मेचीनगरको एक सहकारी संस्थाले नेपाल सरकारबाट अनुदानित रासायनिक मल बिक्री गर्दा सरकारले तोकेको भन्दा धेरै रकम लिएको पाइएको छ । मेचीनगर–७ स्थित मेची कृषक बहुमुखी सहकारी संस्थाले तोकिएभन्दा धेरै रकम लिएर कृषकलाई युरिया मल उपलब्ध गराएको हो ।

नेपाल सरकारबाट अनुदानित रासायनिक मल प्रतिबोरा औसत मूल्य ७ सय ५० का दरले बिक्री गर्न भनिएको छ । अर्थात मलको बोरामै औसत बिक्री मूल्य ७ सय ५० लेखिएको छ । तर, सहकारीले भने उक्त मल बिक्री गर्दा प्रतिबोरा एक हजार ५० रुपैयाँ लिने गरेको छ ।

जुन विषयमा सहकारीसमक्ष बुझ्दा ढुवानी, लोड, अनलोड, प्रशासनिक लगायतमा खर्च हुने भएको र उक्त खर्च सहकारीले नै व्यहोर्नुपर्ने भएकाले उक्त खर्च जोडेर मल बिक्री गरिएको सहकारी बताउँछ । सहकारीका व्यवस्थापक दिपक काफ्लेका अनुसार ढुवानी, लोड, अनलोड, प्रशासनिक सबै खर्च जोडेर मल बिक्री गरिएको हो । ‘विभिन्न खर्च छन्, त्यो सहकारीले नै व्यहोर्नुपर्छ । अर्को कुरा खुद्रा रुपमा मल बेच्दा बोरामा २–४ किलो घट्छ पनि,’ उनले भने, ‘त्यसैकारण मूल्य एक हजार ५० लिइएको हो ।’

उनका अनुसार सहकारीले ८ सय ८ रुपैयाँ ८५ पैसा प्रतिबोराका दरले १ सय २० बोरा मल खरिद गरेको हो । सोही मल सहकारीले खरिद मूल्य भन्दा २ सय रुपैँयाभन्दा धेरै रकम लिएर बेचिरहेको छ । तर, नगरपालिकाको कृषि शाखाका अनुसार नियम अनुसार सहकारीले यति धेरै रकम लिएर बेच्न पाउँदैन । ढुवानी खर्च बापत् प्रतिकिलो २ रुपैयाँ बढी मूल्य लिन पाउने भनिएपनि सहकारीले भने यति धेरै मूल्य लिइरहेको छ । जुन रकम सहकारीले धेरै नै लिएको मानिने मेचीनगर कृषि शाखा प्रमुख टेकेन्द्र प्रधान बताउँछन् ।

‘किलोमा २ रुपैयाँ धेरै लिन पाइन्छ, जसअनुसार एक बोरामा ५० किलो हुने भएकाले ढुवानी लगायतका खर्च बापत् एक बोरा बराबर १ सय रुपैयाँ धेरै लिन पाइन्छ,’ उनले भने, ‘तर, सहकारीले यसरी मूल्य लिँदा धेरै नै मूल्य लिएको मानिन्छ ।’

मेचीनगर–११ का प्रदिप तामाङले मेची कृषक सहकारीबाट मल खरिद गर्दा १ हजार ५० मूल्य तिरेको गुनासो गरेसँगै उक्त तथ्य सार्वजनिक भएको हो । उनले आज (आइतबार) सहकारीबाट एक बोरा मल खरिद गरी लगेका थिए । तर, घर लगेर हेर्दा बोरामा बिक्री मूल्य ७ सय ५० देखेपछि सहकारीले किन यसरी धेरै मूल्य लियो भनेर गुनासो गरे ।

मिति पनि अर्कै

यसैगरी सहकारीले मल बिक्री गर्दा ग्राहकलाई दिने बिलमा समेत अर्कै मिति लेखिएको पाइएको छ । अर्थात भदौ ३१ गते बेचिएको मलको बिलमा असोज १ गतेको मिति छ । यस्तो कसरी भयो ? मल खरिद गर्ने ग्राहकले गल्तीका कारण यस्तो भएको हुन सक्ने अनुमान गरे ।

प्रतिकृया दिनुहोस्