News Portal

प्रदेशका कर्मचारीहरुलाई दैनिक दुई सय खाजा खर्च

रातोपोस्ट संवाददाता
३२१ पटक

मोरङ, ३१ भदाै । कोसी प्रदेश सरकारले कर्मचारीलाई दैनिक २ सय रुपैयाँको दरमा खाजा भत्ता उपलब्ध गराउने निर्णय गरेको छ। आइतबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको कार्यालयमा कार्यरत कर्मचारीलाई दैनिक विद्युतीय हाजिरी गरेको अवस्थामा भत्ता दिने निर्णय गरेको हो।

बैठकपछि सरकारका प्रवक्ता तथा खानेपानी, सिँचाइ तथा ऊर्जा र स्वास्थ्यमन्त्री तिलकुमार मेन्याङबोले विद्युतीय हाजिरीको आधारलाई लिएर कर्मचारीलाई दैनिक २ सय रुपैयाँ खाजा भत्ता उपलब्ध गराउने निर्णय भएको जानकारी दिए। यसअघि, कर्मचारीलाई दैनिक सय रुपैयाँ भत्ता उपलब्ध हुँदै आएको थियो। त्यसैगरी, बैठकले प्रदेश सरकारको मन्त्रालय, आयोग र निकायको ०८०/८१ को अस्थायी संगठन संरचनाका दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता मेन्याङबोले बताए।

सरकारका प्रवक्ता तथा मन्त्री मेन्याङबोले केन्द्र सरकारको वन मन्त्रालयअन्तर्गत प्रदेशका कार्यालयमा कार्यरत ७४ जना फरेस्टरलाई समायोजन गर्ने जानकारी दिए। उनले भने, ‘प्रदेशमा कार्यरत ७४ जना फरेस्टरालाई केन्द्र सरकारले अनुमति दिएको खण्डमा प्रदेशमा समायोजन गर्न सकिनेछ। त्यसका लागि सरकार तयार छ।’ त्यसैगरी, बैठकले संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा कोसी प्रदेश सरकारले शोक प्रस्ताव पारित गरेको छ।

प्रतिकृया दिनुहोस्