News Portal

प्रहरीले सार्वजनिक गर्‍यो गैह्रीगाउँमा हत्या गर्ने व्यक्ति

रातोपोस्ट संवाददाता
२९५ पटक

काठमाडौँ, ३१ भदाै । प्रहरीले काठमाडौंको तिनकुनेस्थित गैह्रीगाउँमा भएको सामूहिक हत्याकाण्डका आरोपीलाई पक्राउ गरी सार्वजनिक गरेको छ । घटनामा सिन्धुपाल्चोक घर भएका सञ्जय भण्डारीको हात रहेको प्रहरीले जनाएको छ । काठमाडौं जिल्ला प्रहरी परिसर टेकुले आइतबार साँझ पत्रकार सम्मेलन गर्दै सामूहिक हत्याकाण्डपछि सीसीटीभी फुटेजसमेतको सहयोगमा अनुसन्धान गर्दा सञ्जय भण्डारीलाई पक्राउ गरिएको जनाएको हो ।

तिनकुनेमा खुकरी प्रहारबाट चार जनाको हत्या भएको घटनापछि भण्डारी भागेर पेप्सीकोला पुगेका थिए । आरोपित सञ्जयले नवीन राईसँगको रिसिइबीका कारण चार जनाको हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ । बोल्न नसक्ने सञ्जयले प्रहरीसामु लेखेर हत्या गरेको स्वीकार गरेका थिए । नवीन राईले चलाएको मोटरसाइकलका विषयमा भण्डारीलाई कुटपिट गरेको र सोही रिसइबीका कारण हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरील जनाएको छ ।

नवीन राईको हत्या गरेपछि त्यहाँ रहेका अन्यले प्रहरीलाई बताउने डरका कारण भण्डारीले अन्य तीन जनाको पनि हत्या गरेको खुलेको प्रहरी परिसर टेकुका एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए । उनले घटनास्थलको सीसीटीभी, लगाएको कपडाको आधारमा पक्राउ गरेको बताए । शनिबार नविन राईसहित दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।

प्रतिकृया दिनुहोस्