News Portal

एनएमसीको घ्यूमाथी गुणस्तरको प्रश्न

नवराज सुवेदी
८४२ पटक

मेचीनगर, १ असोज । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)द्वारा संचालित एनएमसी डेरी उद्योगले गुणस्तरहीन खारेको घ्यू बजारमा पठाएको उपभोक्ताले गुनासो गरेका छन् । अर्जुनधाराका एक जना नागरिकले सामाजिक संजाल फेसबुकमा खारेको घ्यूको बट्टाकै फोटो सार्वजनिक गर्दै गुणस्तरमा विभिन्न प्रश्न उठाएसँगै उक्त तथ्य सार्वजनिक भएको हो ।

झापा अर्जुधारा नगरपालिका वडा नं–६ निवासी इन्द्र ढुंगाना गत बुधबार घरायसी सरसामान किनमेल गर्ने भनेर विर्तामोड आइपुगे । कृषि मण्डी नजिकै रहेको सतासी सहकारी संस्थाद्वारा संचालित मार्टमा उनी किनमेलका लागि पसे । त्यहाँ उनले घरका अन्य सरसामानसँगै एनएमसी डेरीको लोगो अंकित खारेको घ्यू पनि खरिद गरे ।

‘मैले गत बुधबार विर्तामोड स्थित सतासी सहकारीले संचालन गरेको मार्टमा मूल्य रु. ५ सय ६० मा घ्यू खरिद गरेको हुँ ।’ रातोपोष्टसँगको कुराकानीमा उनले भनेका छन् । सामान खरिद गरेर उनी घर पुगे । त्यसपछि घ्यू प्रयोग गर्न खोज्दा घ्यू अत्याधिक गन्हायो । घ्यू राम्रो खारिएको छैन कि भनेर उनले फेरि घ्यू खारे ।

तर, घ्यू सेतो न सेतो प्रकारको भयो । खानै नसक्ने प्रकारको भयो घ्यू । ‘राम्रो खारिएको छैन कि भनेर फेरि खारेको घ्यू त खानै नसकिने गरीको भयो,’ उनले भने, ‘यो त अत्यन्तै गुणस्तरहीन घिउ भयो नि ।’ त्यसपछि उनी अचम्ममा परे । ‘सधैँ गुणस्तरीय घ्यू बजारमा पठाउने एनएमसीले यसपटक किन यस्तो गर्यो ? कि एनएमसीको ब्राण्ड नै कसैले दुरुपयोग गरिरहेको छ कि !’ उनी दुविधामा परे ।

‘म एनएमसीको एक सदस्य हो, मलाई यो सहकारीप्रति बिश्वास पनि छ । तर यो अरु कसैले स्टिकर टाँसेर पो बेच्यो कि ? एनएमसीले खोजी गर्नुपर्यो ।’ उनले भनेका छन् । यसरी एनएमसी डेरीको उत्पादनमा गुणस्तरको प्रश्न उठेसँगै हामीले एनएमसी डेरीका व्यवस्थापक नवराज अधिकारीसमक्ष बुझ्यौँ । उक्त क्रममा उनले यस कुराको जानकारी आफुलाई पनि आएकाले थप बुझ्ने काम भइरहेको बताए । ‘हामीले हप्तादिन अघिदेखि मात्र खारेको घ्यू बजारमा पठाएका हौँ, त्यस्तो नहुनु पर्ने हो,’ उनले भने ‘यद्यपी हामी वास्तवमा के भएको हो ? यथार्थ बुझ्न खोजिरहेका छौँ । ’

यसैगरी हामीले यस सन्दर्भमा विर्तामोडमा सतासी सहकारीले संचालन गरेको सहकारी पसलसमक्ष पनि बुझेका छौँ । उक्त क्रममा सहकारी पसलले एनएमसी डेरीद्वारा उत्पादित सामाग्री बेच्ने गरेको जानकारी दियो । ‘हामी एनएमसी डेरीका सामाग्री राख्छौँ, पसलमा भएका कुनै कुनै सामाग्रीका बारे गुणस्तरको प्रश्न पनि उठ्ने गरेको छ,’ सहकारी पसलका प्रमुख उमेश चौहानले भने, ‘यस्ता विषयमा बुझेर उत्पादक संस्थालाई जानकारी गराउने गरिएको छ ।’

प्रतिकृया दिनुहोस्