विराटनगर, ४ असोज । पत्रकार महासंघ मोरङको कार्यालयमा प्रेस सेन्टर मोरङले तालाबन्दी गरेको छ । महासंघ मोरङको कार्यवहाक अध्यक्ष खुल्ला उपाध्यक्ष मोहन भट्टराईले विधानतः पाउनुपर्नेमा अन्यथा भएको भन्दै प्रेस सेन्टरले तालाबन्दी गरेको हो । महासंघ मोरङका अध्यक्ष सञ्जीव खनाल १० दिन अगाडि विदेश गएका थिए । उनले विदेशबाटै गत भदौ २९ गते महिला उपाध्यक्ष तारा आचार्यलाई कार्यबहाक अध्यक्षको जिम्मेवारी दिएको पत्र सार्वजनिक भएको थियो ।
उक्त पत्र नक्कली रहेको र कार्यबहाक अध्यक्ष तोक्ने विषयमा विधानले अध्यक्षलाई अधिकार नै नदिएको सेन्टरको दाबी छ । प्रेस सेन्टर मोरङका अध्यक्ष अर्जुन आचार्यले महासंघको कार्यालयमा तालाबन्दी गर्दै कार्यबहाकको विषयको विवाद समाधानका लागि पत्रकार महासंघको प्रदेश समिति र केन्द्रीय समितिलाई आग्रह गरिएपनि ढिलासुस्ती गरेपछि तालाबन्दी गरेको बताए । विधान अनुसार भट्टराईलाई कार्यबहाक तोकेको पत्र प्रदेश र केन्द्रले दिएपछि मात्रै तालाबन्दीको अन्त्य गरिने उनको भनाइ छ ।
तालाबन्दीलाई प्रेस सेन्टर कोशी प्रदेशले पनि समर्थन गरेको छ । तालाबन्दीप्रति ऐक्यबद्धता जनाउँदै कोशी प्रदेश अध्यक्ष विनोद घिमिरेले एकताबद्ध रहेका मोरङका पत्रकारहरुबीच विवाद र झैझगडा बढाउने उद्देश्यका साथ विधान विपरीत कार्यबहाक अध्यक्ष तोकिएको बताए । तालाबन्दी पछि प्रेस सेन्टर मोरङले जारी गरेको विज्ञप्तिमा प्रदेश र केन्द्रका अध्यक्ष तथा महासचिवले विधान अनुसार भट्टराई नै कार्यबहाक अध्यक्ष हुने बताएको उल्लेख छ ।