News Portal

काँकरभिट्टामा असाेज १४ गते मेची-महाकाली समाजवाद यात्राकाे उद्घाटन

रातोपोस्ट संवाददाता
४७० पटक

मेचीनगर, ५ असोज । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले असोज १४ गते काँकरभिट्टामा वृहत जनसभा आयोजना गर्ने भएको छ । समाजवाद जागरण यात्रा मेची–महाकालीको प्रारम्भ बिन्दु झापाको काँकरभिट्टामा पार्टीले वृहत जनसभा आयोजना गर्ने भएको हो ।

असोज १४ गते मेची नदिबाट शुरु हुने यस जागरण यात्रा पश्चिम महाकाली पुगेर अन्त्य हुनेछ । असोज १४ को यस वृहत जनसभालाई सम्बोधन गर्नका लागि पार्टी अध्यक्ष माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, उपमहासचिव लगायतका नेताहरु काँकरभिट्टा आउनेछन् । जनसभा समापनका लागि पार्टी पंक्ती तथा संगठनहरुमा निरन्तर छलफल चलिरहेको छ । आज काँकरभिट्टामा आयोजित जिल्ला कमिटिको वैठकले जनसभा सफल बनाउनका लागि विभिन्न समिति तथा उपसमितिहरु निर्माण गरेको छ ।

पार्टीका केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज पुष्पराज पोख्रेलको अध्यक्षता तथा केन्दिय सदस्य तथा झापा जिल्ला सहइन्चार्ज निलमणी वराल सचिव रहने गरि २ सय ५५ जनाकाे मुल व्यवस्थापन समिति गठन गरिएको छ । यसैगरी आर्थिक समितिको संयोजकको जिम्मेवारी पार्टीका केन्द्रिय परिषद सदस्य शंकर थापालाई दिइएको छ । प्रचार विभागको जिम्मा समाजवादी प्रेस संगठन झापा जिल्ला कमिटिलाई प्रदान गरिएको छ भने विपि भट्टराईकाे संयोजकमा व्यवस्थापन उपसमिति निर्माण गरेको छ। मुल समितिले विभिन्न उपसमितिहरु निर्माण गरेर जनसभा भव्यताका साथ समापन गर्ने जनाइएको छ ।

जिल्ला कमिटीका अध्यक्ष वेदराज रेग्मीको अध्यक्षता तथा प्रदेश कमिटीका अध्यक्ष बलदेव चौधरीको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको थियाे । वैठकमा प्रदेश कमिटीका अध्यक्ष बलदेव चौधरी, केन्द्रीय सदस्य पुष्पराज पोख्रेल, केन्द्रीय सदस्य निलमणी वराल, केन्द्रीय सदस्य चन्द्रा श्रेष्ठ र केन्द्रीय परिषद सदस्य शंकर थापाले बाेलेका थिए ।

प्रतिकृया दिनुहोस्