News Portal

मेचीनगरमा महिला सिप विकास केन्द्र सञ्चालनको तयारीमा

रातोपोस्ट संवाददाता
२८२ पटक

मेचीनगर, ५ असाेज । झापाको मेचीनगर नगरपालिकामा करिब साढे तीन करोडको लागतमा महिलाहरूका लागि सीपमूलक तालिम केन्द्र सञ्चालनमा आउने भएको छ । नगरपालिकाले नगरको गौरवको योजना अन्तर्गत महिलालाई लक्षित गरी “महिला सीप विकास केन्द्र” सञ्चालनको अन्तिम तयारीमा रहेको हो ।

नगरपालिकाले महिलाहरूलाई लक्षित गरी वडा नम्बर ८ स्थित पूर्व पश्चिम राजमार्गदेखि करिब एक किलोमिटरको दुरीमा सुविधा सम्पन्न तीन तले भवन बनाएको छ । उक्त भवनमा अनभिज्ञ, विपन्न, विभेदित ग्रामीण महिलाहरूको विशेष अवस्थालाई ध्यानमा राखेर विकासका आम अवसरमा पहुँच स्थापना गर्ने उद्देश्यका साथ उनीहरूलाई सीप सिकाउँदै दक्ष बनाउँदै आत्मनिर्भर बनाउने उद्देश्यले सीप विकास केन्द्र सञ्चालन गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

यता करोडौँको लागतमा महिलाहरूलाई लक्षित गरी नगरपालिकाकै गौरवको योजनाको रुपमा महिला सीप विकास केन्द्र सञ्चालनमा आउनु स्थानीय सरकारको राम्रो कार्य रहेको स्थानीय गीता खड्काको भनाई छ । उनले महिला सीप विकास केन्द्रलाई नगरपालिकाले सञ्चालन गरेपछि मेचीनगरका सयौँ महिलाहरू यस कार्यक्रमबाट लाभान्वित हुने बत्ताइन् । त्यस्तै करोडौँको लागतमा महिला लक्षित बहुआयमिक योजना स्थानीय क्षेत्रमा नै सञ्चालन हुन आँट्नु नगरपालिकाको राम्रो कदम भएको स्थानीय लीला कट्टेल बताउँछिन् ।

नगरपालिकाले कार्यविधि नै बनाएर महिला सीप विकास केन्द्र सञ्चालन गर्न लागेको छ । केन्द्रमा ज्येष्ठ नागरिक महिलाहरूलाई पातको दुना टपरी, लाख बात्ती, लगायतका विभिन्न सीपमूलक तालिम सिकाउने तथा त्यसको बिक्री वितरण गर्ने, त्यस्तै महिलाहरूको लागि कम्यूटर तालिम, आय आर्जनका विभिन्न सिपमूलक तालिम मायोको चिनो, सजावटका सामान, ब्याग, फूलदानी, लगायतका तालिम प्रदान गर्दै महिलाहरू आत्मनिर्भर बनाउने लक्ष्य नगरपालिकाले लिएको छ ।

खास गरी महिलाहरूको जीवनमा परिवर्तन ल्याउन महिलाको हातमा सिप र आर्थिक स्रोत अपरिहार्य हुन्छ भन्ने मनन गरी नगरपालिकाले यस कार्यक्रमलाई अगाडी बढाएको मेचीनगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले बताउँछिन् । उनले अहिले स्थानीय सरकारको तर्फबाट सुरुवात गरिएको भएता पनि यसलाई अझ प्रभावकारी बनाएर अगाडी बढाउन प्रदेश र सङ्घीय सरकारको पनि साथ र सहयोग लिने बत्ताइन् । उनले धेरै भन्दा धेरै महिलाहरूलाई यस केन्द्र मार्फत लाभान्वित गराउने उद्देश्य राखिएको र सोही अनुरूप आफूहरू लागि परिरहेको बताउँछिन् ।

प्रतिकृया दिनुहोस्