झापा, १६ असाेज । दशै तिहार चाडपर्वलाई लक्षित गरेर झापाको अर्जुनधारा- ११ स्थित नयाँ बसपार्कमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्वमा घर फर्कने र बाहिर जाने यात्रुहरूलाई लक्षित गरी इलाका प्रहरी कार्यालय बिर्तामोड र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले आजदेखि नागरिक कक्ष स्थापना गरेका हुन् ।
चाडपर्वको बेलामा हुनसक्ने आपराधिक र सवारी दुर्घटनाको जोखिम न्यूनीकरण गर्ने उद्देश्यका साथ सहायता कक्ष स्थापना गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख नबराज न्योपानेले जानकारी दिए । चार्डपर्वका बेला सवारीमा सास्ती खेप्नुपरेको जन गुनासो बढ्ने गरेकाले नागरिकको सहयोगका लागि हेल्प डेक्स स्थापना गरिएको उनको भनाई छ ।
नागरिक सहायता कक्षमा प्रहरी, ट्राफिक प्रहरीको संयुक्त टोलीबाट बसपार्कबाट बिभिन्न जिल्ला बाहिरिने र भित्रिने यात्रुहरूलाई सहयोग गर्ने ट्राफिक प्रमुख न्यौपानेले बताए । नागरिक सहायता कक्षमा कार्यरत सुरक्षाकर्मीले दुर्घटना न्यूनीकरणसम्बन्धी सवारी चालकलाई विभिन्न सचेतना गराउने तथा गाडीको सिट क्षमताभन्दा बढी यात्रु तथा सामाग्री हाल्न रोक लगाउने उनले जानकारी दिए । उनले भाडादर यात्रुले देखिने गरिने राख्न पनि यातायात व्यवसायीलाई आग्रह गरेका छन् । यातायात व्यवसायीले यात्रुसँग बढी भाडा लिने, बढी यात्री र सामान राख्ने लगायतका गल्ती गरेको पाईएमा कारबाही गरिने पनि उनले बताए ।
अर्जुनधारा ११ का वडाध्यक्ष खगेन्द्र इङनामको प्रमुख आतिथ्यता तथा बिर्तामोड ५ का वडाध्यक्ष रोहित प्रसाईको बिशेष आतिथ्यता रहेको कायक्रमको अध्यक्षता इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी सुरज कार्कीको रहेको थियो । चाडपर्वको बेलामा हुनसक्ने आपराधिक र सवारी दुर्घटनाको जोखिम न्यूनीकरण गर्ने उद्देश्यका साथ सहायता कक्ष स्थापना गरेको इप्रका अनारमनीका डिएसपी सुरज कार्कीले बताए । यातायात व्यवसायीले क्षमता भन्दा बढी यात्रु राखे वा नराखेको र तोकिएको भन्दा बढी भाडा अशुल गरे वा नगरेको विषयलाई मुख्य रूपमा प्रभावकारी अनुगमन गरिने डिएसपी कार्कीको भनाई छ ।
त्यस्तै, मेचीनगर-६ काँकरभिट्टा बसपार्क, दमक बसपार्कमा पनि चाडपर्वलाई मध्यनजर राखी यात्रु सहायता कक्ष स्थापना गरिएको ट्राफिक प्रमुख न्यौपानेले जानकारी दिए ।