News Portal

आज विश्वकप उपाधिका लागि भारत र अस्ट्रेलिया भिड्दै, कस्ले मार्ला बाजी ?

रातोपोस्ट संवाददाता
१८५ पटक

काठमाडौं, ३ मंसिर । एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलियाबिच प्रतिस्पर्धा हुँदैछ । अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समय अनुसार आज दिउँसो सवा २ बजे फाइनल खेल सुरु हुनेछ।

सेमिफाइनल खेलमा भारतले न्युजिल्याण्डलाई र अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई हराएर फाइनलमा स्थान बनाएका थिए । भारतले बुधबार पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई ७० रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई ३ विकेटले हराउँदै फाइनलमा पुगेको हो । विश्वकपको फाइनलमा दुवै टोली आमनेसामने भएको यो दोस्रो पटक हो । सन् २००३ को विश्वकपमा अस्ट्रेलियाले नै भारतलाई पराजित गरेको थियो। त्यस बेला अस्ट्रेलियाले भारतलाई १२५ रनले हराएर विश्वकप हात पारेको थियो। यसपटक भारतलाई २००३ को बदला लिने अवसर जुरेको छ भने अस्ट्रेलियालाई इतिहास दोहोर्‍याउने ।

यस विश्वकपको विजेताले ४० लाख अमेरिकी डलर अर्थात करिब ५३ करोड नेपाली रुपैयाँ पाउनेछन् । जबकि उपविजेताले २० लाख अमेरिकी पुरस्कार प्राप्त गर्नेछन् । सेमिफाइनलमा हारेका न्युजिल्यान्ड र दक्षिण अफ्रिका दुवैले आठ लाख डलर पाएका छन् । लिग चरणबाट बाहिरिएका सबै ६ टोलीले एक–एक लाख डलर प्राप्त गरेका छन् ।

यसका साथै लिग चरणमा १० वटै टोलीबिच खेलेका ४५ खेलको विजेता टोलीलाई प्रत्येक खेलमा विजयी भएबापत ४० हजार डलर प्रदान गरिने छ ।

प्रतिकृया दिनुहोस्