News Portal

झापा लिग : मेचीनगर र भद्रपुर नकआउट चरणमा

रातोपोस्ट संवाददाता
१४८ पटक

झापा, १६ मंसिर । झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिता अन्तर्गत मेचीनगर नगरपालिका समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।

आजको खेलमा कचनकवल गाउँपालकिालाई हराउँदै मेचीनगर स्पष्ट ९ अंकका साथ समूह ग को विजेता बनेको हो । मेचीनगरसँग ३–० गोल अन्तरले हारेको कचनकवल लिग चरणबाटै बाहिरिएको छ ।

लिग चरणका सबै तीन खेल जित्ने मेचीनगर एक मात्र टोली बनेको छ । खेलको छैटौँ र १६ औँ मिनेटमा मेचीनगरका निरज कार्कीले गोल गरेका थिए । त्यस्तै, ६१ औँ मिनेटमा सन्देश खवासले एक गोल गरे । प्लेयर अफ दि म्याच भएका कार्कीले नगद दुई हजार र ट्रफी पाए ।

यसैबीच, आज भएको दोस्रो तथा समूह ग को लिग चरणको अन्तिम खेलमा भद्रपुर नगरपालिका विजयी भयो । जितसँगै समूह उपविजेता हुँदै भद्रपुर पनि नकआउट चरणमा प्रवेश गरेको छ ।

बाह्रदशी गाउँपालिकासँग बराबरी मात्रै खेले पनि भद्रपुर नकआउट चरणमा प्रवेश गर्ने अंक गणितीय अवस्थामा थियो । हारसँगै बाह्रदशी लिग चरणबाट घर फर्किएको छ ।

भद्रपुरले बाह्रदशीलाई २–० गोल अन्तरले हराएको हो । खेलको ३२ औँ मिनेटमा भद्रपुरका उदेश कामतीले गोल गरे । त्यस्तै, खेलको ५६ औँ मिनेटमा निवाङ लिम्बूले गोल गरेका थिए ।

खेलको प्लेयर अफ द म्याच भएका भद्रपुरका कामतीले नगद दुई हजार र ट्रफी पाए । आजको दुवै खेलको प्लेयर अफ द म्याचको पुरस्कार गोल्डकपका अध्यक्ष दिपेश ढकाल, कोशी प्रदेशसभा सदस्य मोहन महर्जन, प्रदेशसभाका पूर्वसदस्य वसन्त बानियाँ, सौजन्यकर्ता प्रमिला ओझा, किरण शर्माले प्रदान गरेका थिए ।

फुटबलको उर्वर भूमि झापाबाट युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना भएको प्रतियोगिताको फाइनल खेल मंसिर २४ गते हुने महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्