News Portal

नेपाल पत्रकार महासंघ महिला विभागद्वारा लैङ्गिक हिंसा सम्बन्धि अन्तरक्रिया

रातोपोस्ट संवाददाता
१५१ पटक

झापा, १६ मंसीर ।‘लैंगिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’भन्ने नाराका साथ नेपाल पत्रकार महासंघ झापा महिला विभागको आयोजनामा आज बिर्तामोडमा लैंगिक हिंसा न्यूनीकरणमा सञ्चार क्षेत्रको भूमिका विषयक अन्तरक्रिया सम्पन्न भएको छ ।

अन्तरक्रियाका सहभागीले लैंगिक हिंसा न्यूनीकरणमा सञ्चार क्षेत्र अझ जिम्मेवार बन्नुपर्नेमा जोड दिए । लैंगिक हिंसा न्यूनीकरणका लागि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने भन्दै उनीहरुले यसका लागि सबै सरोकारवालाहरुबीच सहकार्य समेत जरुरी रहेको औल्याए । हिंसापीडितलाई न्याय दिन र पीडकलाई कानूनी कठघरामा ल्याउन सक्नुपर्नेमा उनीहरुको जोड थियो ।

अन्तरक्रियाको उद्घाटन प्रमुख अतिथि झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले गरेका थिए । प्रजिअ पोखरेलले हिंसाको मुख्य कारण विभेद भएको बताउँदै मानिसको सोच र व्यवहारमा परिवर्तन ल्याउन जरुरी भएको बताएका थिए । उनले सरोकारवालाहरु एकजुट भई समाजमा सचेतना अभियान अघि बढाउनुपर्ने बताए ।

झापाको लैंगिक हिंसाको अवस्थाको विश्लेषणात्मक तथ्यांक जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक महेन्द्र पराजुलीले प्रस्तुत गरेका थिए । उनले पीडितले सत्य कुरा नबताउँदा, उजुरी फिर्ता लिँदा, उल्टो बयान दिँदा, सहमतिको नाममा प्रमाण नष्ट गराउने प्रबृत्ति, पीडकलाई बचाउन विभिन्न गतिविधि गर्दा पीडितले न्याय पाउन समस्या भएको बताए ।

पत्रकार महासंघ झापाका पूर्वअध्यक्ष तारामणि सापकोटाले सबैका लागि सञ्चार निष्पक्ष आवाज बन्नुपर्ने जोड दिए । उनले संविधानले दिएको अधिकार स्थापित गर्न सञ्चार माध्यमले वकालत गर्नुपर्नेमा जोड दिए ।

महासंघ झापाकी उपाध्यक्ष तथा महिला विभाग संयोजक सुशीला संग्रौलाको अध्यक्षतामा भएको कार्यक्रममा अधिवक्ता रञ्जिता कार्की, महिला अधिकारकर्मी तथा सामाजिक संस्थाका प्रतिनिधिहरु राधा सुब्बा, पार्वता खरेल विमली, यशाेदा उप्रेती, संगीता गिरी, युनिता दवाडी, अधिकारकर्मी दिपक दास लगायतले विभिन्न जिज्ञासा र सुझाव राखेका थिए ।

त्यस्तै नेपाल प्रेस युनियन कोशीका उपाध्यक्ष ज्ञानेन्द्र निरौला, महासंघका सहसचिव तथा युनियन झापाका सचिव अर्जुन राजवंशी, नारी सञ्चार गृहकी अध्यक्ष रेजिना रोदन, पूर्वअध्यक्ष अम्बिका भण्डारी, सञ्चारिका समूह झापाकी अध्यक्ष लीला अनमोलले समेत कमजोरी सच्याएर सञ्चार क्षेत्र अझ जिम्मेवार ढंगले अघि बढ्ने हो भने लैंगिक हिंसा न्यूनीकरणमा टेवा पुग्ने बताए ।

नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, कोशी प्रदेश समितिका सदस्य लीलाराज झापाली, नेपाल प्रेस युनियन झापाका अध्यक्ष गिरीराज भट्टराई, समाजवादी प्रेस संगठन झापाका संयोजक अनिलदेव राई, फोनिज झापाका पूर्वअध्यक्ष गणेशमान मुखिया लगायतले समेत सुझाव र प्रतिक्रिया राखेका थिए । कार्यक्रमको सञ्चालन महासंघ झापाकी कार्यसमिति सदस्य स्वस्तिका आचार्यले गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्