News Portal

झापामा भ्रष्टाचारविरुद्ध कलम चलाउने पत्रकार पुरस्कृत हुने

रातोपोस्ट संवाददाता
१६४ पटक

झापा, १७ मंसिर । भ्रष्टाचारविरुद्ध कलम चलाउने झापाका एक जना पत्रकारलाई हरेक वर्ष ५० हजार ५ सय ५५ रुपैयाँ राशीसहित पुरस्कृत गर्न पुरस्कार स्थापना गरिएको छ । नेपाल पत्रकार महासंघ झापा शाखामा उक्त पुरस्कार स्थापना गरिएको हो ।

अक्षयकोषसहित पुरस्कार स्थापना बारे हेम–सरिता फाउन्डेसन टेक्सास, अमेरिका र नेपाल पत्रकार महासंघ झापा शाखाबीच आइतबार काठमाडौँमा दुई पक्षीय सम्झौता सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा भएको सम्झौता अनुसार पाँच लाख रुपैयाँको अक्षयकोष राखिने छ ।

सम्झौतामा हेम–सरिता फाउन्डेसनको तर्फबाट अध्यक्ष हेम पाठक र नेपाल पत्रकार महासंघको तर्फबाट अध्यक्ष एकराज गिरीले हस्ताक्षर गरेका छन् । सम्झौताको रोहबरमा नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले हस्ताक्षर गरेका छन् । हेम–सरिता फाउन्डेसनका संस्थापकका पिता टङ्कप्रसाद पाठक र माता रमादेवी पाठकको नामबाट हरेक वर्ष टङ्कप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार प्रदान गर्ने गरी उक्त सम्झौता भएको हो ।

अक्षयकोषको व्याजबाट भ्रष्टाचारविरुद्ध तथा सुशासन प्रवर्द्धनका लागि कलम चलाउने, पत्रकारितामार्फत सुशासनका लागि महत्त्वपूर्ण योगदान गर्ने पत्रकारलाई पुरस्कृत गरिने छ । पुरस्कार वितरण यसै वर्षबाट वितरण गर्ने र यस वर्षको पुरस्कारको राशि आइतबार नै फाउन्डेसनले पत्रकार महासंघ झापालाई हस्तान्तरण गरेको छ । महासंघ झापाले यस वर्षको पुरस्कार छनोटको प्रक्रिया अघि बढाइसकेको छ ।

आगामी वर्षबाट भने महासंघको आयोजनामा भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका दिन डिसेम्बर ९ तारिखमा उक्त पुरस्कार प्रदान गरिने महासंघ झापाका सहसचिव राजु पाठकले बताए । महासंघले अक्षयकोष सञ्चालन र पुरस्कार व्यवस्थापनको कामलाई व्यवस्थित, निष्पक्ष र पारदर्शी बनाउन छुट्टै कार्यविधि तयार गरी लागू गर्ने तथा सबै काम कार्यविधि अनुसार गरिने जनाइएको छ ।

बिर्तामोड- ४ स्थायी घर भई हाल अमेरिकाको टेक्सासमा रहेर व्यापार व्यवसायका साथै सामाजिक कार्यमा संलग्न हेम पाठक र सरिता पाठकले स्थापना गरेको हेम–सरिता फाउन्डेसनले सामाजिकसँगै विभिन्न रचनात्मक कार्य गर्दै आएको छ ।

उक्त सम्झौता कार्यक्रम महासंघका अध्यक्ष गिरीको अध्यक्षता, केन्द्रीय वरिष्ठ उपाध्यक्ष विष्टको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा फाउन्डेसनका अध्यक्ष पाठक, नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष तारा बराललगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा सामाजिक व्यक्तित्व दीपक भेटुवाल, संञ्चाकर्मीहरुको आतिथ्य रहेको थियो ।

प्रतिकृया दिनुहोस्