News Portal

लाल-भागिरथा बानियाँ प्रतिष्ठानले गर्यो डा. शर्मासहित तीन प्रतिभालाई सम्मान

रातोपोस्ट संवाददाता
१४९ पटक

झापा, २० मंसिर । लाल–भागिरथा बानियाँ प्रतिष्ठान धाइजनले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा.सञ्जीव शर्मासहित तीन जनालाई सम्मान गरेको छ । आज मेचीनगर–११ स्थित जालपा सामुदायिक भवनमा आयोजना गरिएको ५ औं बार्षिक उत्सव एवम् सम्मान कार्यक्रममा शर्मासहित तीन प्रतिभालाई पुरस्कृत गरिएको हो ।

कार्यक्रममा उत्कृष्ट प्रतिभाका रुपमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा.शर्मा, उत्कृष्ट कृषि पुरस्कारबाट मेचीनगर–५ सुरेन्द्रनगरका किसान बद्रीकुमार राउत, उत्कृष्ट गृहिणी पुरस्कारबाट बिर्तामोड–४ की हिमा लुइँटेल पाठकलाई जनही ३१ हजार रुपैयाँसहित कदर पत्रद्वारा सम्मान गरिएको छ । सामाजिक क्षेत्रका प्रेरक व्यक्तिहरुलाई कदर गर्न प्रतिष्ठानले विगत ५ वर्षदेखि यस्तो सम्मान गर्दै आएको प्रतिष्ठानले जनाएको छ ।

लाल–भागिरथा बानियाँ प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सभामुख देवराज घिमिरे रहेका थिए । उनले असल संस्कार सिकाउन प्रतिष्ठान प्रेरणाकाे स्राेत बनेकाे बताए । यसखाले सामाजिक संस्थालाई जीवन्त राख्न सबै क्षेत्रकाे दायित्य रहने उल्लेख गरे ।

कार्यक्रममा पुरस्कृत प्रतिभा प्रा. डा. शर्मा, मेचीनगर उपप्रमुख मिना उप्रेतीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा बागमती प्रदेशका पूर्व प्रदेश प्रमुख विष्णु प्रसाई, मेचीनगर नगरपालिकाका नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, सविधान सभा सदस्य अमृत राजवंशी, विर्तामाेड नगर प्रमुख पवित्रा महतरा प्रसाई, पुर्व प्रदेश सांसद श्रीप्रसाद मैनाली लगायतका आतिथ्यता रहेकाे थियाे । प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँले कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए भने स्वागत आशा बानियाँ उप्रेतीले गरेको कार्यक्रमको सञ्चालन सचिव डम्बरबहादुर देउजाले गरेका थिए ।

प्रतिकृया दिनुहोस्