News Portal

झापा लिग तथा नकआउट फुटबलमा मेचीनगर र अर्जुनधार सेमिफाइनल

रातोपोस्ट संवाददाता
१२९ पटक

झापा, २० मंसिर । बिर्तामोड नगरपालिकाविरुद्ध शानदार खेल खेल्दै अर्जुनधारा नगरपालिका ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा अर्जुनधाराले बिर्तामोडमाथि निक्कै नै दबाब राख्दै फराकिलो जित दर्ता गरेको हो । खेलको अधिकांश समय अर्जुनधाराले गोल नियन्त्रणमा राखेको थियो । अर्जुनधाराले बिर्तामोडलाई ५–० गोल अन्तरले हराएको हो । खेलको १९ औँ र २८ औँ मिनेटमा निखिल तामाङले गोल गरे । त्यस्तै, ४२ औँ मिनेटमा सुवासचन्द्र लिम्बू, ४७ औँ मिनेटमा राजेश दाहाल र ७४ औँ मिनेटमा प्रतिक कन्दङवाले गरेका थिए ।

खेलको प्लेयर अफ दि म्याच भएका अर्जुनधाराका निखिल तामाङ भए । उनलाई झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, अर्जुनधाराका नगरप्रमुख बलदेवसिंह गोम्देन, झापाका प्रहरी प्रमुख दुर्गाराज रेग्मी लगायतले नगद दुई हजार र ट्रफी प्रदान गरे ।

त्यस्तै, आजको अन्तिम क्वार्टर फाइनल खेलमा मेचीनगर नगरपालिका विजयी भएको छ । जितसँगै मेचीनगर पनि सेमिफाइनल प्रवेश गरेको छ । फाइनल प्रवेशका लागि उसले अर्जुनधाराको सामना गर्नेछ ।

मेचीनगरले गौरादह नगरपालिकालाई २–१ गोल अन्तरले हराएको हो । खेल अवधिभर दुवै पालिकाबीच कडा प्रतिस्पर्धा भएको थियो । रोमाञ्चक खेलको ३८ औँ मिनेटमा मेचीनगरका अजय राजवंशीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ६५ औँ मिनेटमा गौरादहका पासाङ लामाले गोल गर्दै खेल बराबरीमा फर्काएका थिए । तर, खेलको ७३ औँ मिनेटमा मेचीनगरका लागि अजय राजवंशीले अर्को गोल थपेपछि मेचीनगरको सेमिफाइनल यात्रा टुंगो लागेको थियो ।

खेलको प्लेयर अफ दि म्याच मेचीनगरका अजय राजवंशी भए । उनलाई गोल्डकपका अध्यक्ष दिपेश ढकाल, झापा उद्योग संघका अध्यक्ष यामबहादुर श्रेष्ठ, नेपाल भारत मैत्री संघका अध्यक्ष प्रदिपमणि रेग्मीले नगद दुई हजार र ट्रफी प्रदान गरे । फुटबलको उर्वर भूमि झापाबाट युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना भएको प्रतियोगिताको दुवै सेमिफाइनल खेल मंसिर २२ गते र फाइनल खेल मंसिर २४ गते हुने महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिताको विजेताले नगद ३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २ हजार रुपैयाँ पाउने छन् । त्यस्तै, उत्कृष्ट गोल किप्पर, उत्कृष्ट प्रशिक्षक, उच्च गोलकर्ता र उदीयमान खेलाडीले नगद ५ हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्ने छन् ।

प्रतिकृया दिनुहोस्