News Portal

मेची भन्सारका कर्मचारी अवैध रकम असुलीमा व्यस्त

रातोपोस्ट संवाददाता
१८१ पटक

झापा, २२ मंसिर । मेची भन्सार कार्यालयका कर्मचारीहरु भारतीय नम्बर प्लेटका सवारी साधन नेपाल प्रवेश गर्दा सुविधा काट्ने नाममा अवैध रुपमा रकम असुलीमा व्यस्त छन् । त्यस्ता सवारी साधनलाई मासिक पैसा असुलेर सुविधा काट्ने रामहरि कार्की र चेतन नामले चिनिने कर्मचारीले घरैमा ह्वाट्सएपमार्फत सुविधा पठाएर रकम असुल्ने गरेको पाइएको हो ।

नेपालीले भारतीयकै नाममा सवारी साधन किनेर नेपालभित्रै भन्सार नगरी सुविधा मात्र लिएर दैनिक कुदाउने गरेका छन् । त्यस्तै, काँकरभिट्टाबाट नेपालतर्फ आउने सवारी साधनले नजिकैको बजारसम्म पुग्न भन्सार पत्र (सुविधा) काटेर मात्र नेपाल प्रवेश गर्न पाउँछ । सुविधा काट्दा कुनै रकम तिनुपर्दैन । त्यसबाहेकका अन्य क्षेत्रमा पुग्न भने दैनिक भन्सार तिर्नुपर्ने हुन्छ । तर, हरेक दिन सुविधा काट्ने भारतीय सवारी साधनसँग भन्सारका ती कर्मचारीले अवैध असुली गर्दै आएको पाइएको छ ।

भारतबाट नेपाल प्रवेश गर्ने सवारीबाट कागज मिलाउने भन्दै कार्की र उनको समूहले प्रतिसवारी २० रुपैयाँ देखि ५० रुपैयाँसम्म लिने गरेका छन् । बिहानको ६ बजेदेखि बेलुकासम्म सयौँ मोटरसाइकल तथा साना सवारीबाट हजारौँ रकम असुल्ने गरेका छन् । सुविधा कागजमा कुनै पनि रकम उल्लेख गरिएको हुँदैन । सुविधा निःशुल्क छ भन्ने सवारीधनीलाई थाहा नभएकोले ठगिने गरेको स्थानीय बताउँछन् ।

सुविधाको विषयमा मेची भन्सारका प्रमुख रामप्रसाद रेग्मीले यात्रु लिएर आएका गाडीहरू सोही दिन फर्कने गरी नजिकको बजारसम्म जान पाउने र त्योबापत कुनै पैसा नलाग्ने बताए । नेपालभरि कुद्नका लागि भने भन्सार काट्दा भने ४ पाङग्रे जिप, कार र भ्यानको प्रतिदिन ६ सय रुपैयाँ र दुई पाङग्रेको २ सय रुपैयाँ लग्ने बताए । यसरी हरेक दिन कर्मचारीले सयौँ सवारीबाट हजारौँ रकम असुल्दासमेत मेची भन्सार कार्यालय मौन रहेको छ । यो अवैध रूपमा सङ्कलन भएको रकम राज्यको कुनै पनि कोषमा जम्मा नभएर सिधै कर्मचारीको गोजीमा जाने गरेको छ ।

प्रतिकृया दिनुहोस्