News Portal

काँकरभिट्टा-लौकही सडक एसियाली मापदण्डको बनाउन सुरु

रातोपोस्ट संवाददाता
३२२ पटक

झापा, ७ फागुन । झापाको काँकरभिट्टादेखि लौकहीसम्मको सडक विस्तारको काम सुरु भएको छ । एसियाली विकास बैंक(एडीबी) र एसियाली इन्फास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक (एआईईबी) को कुल ४६ अर्ब रुपैयाँ लागतमा पूर्व-पश्चिम राजमार्ग विस्तार गर्ने योजनाअनुसार दुई लेनको सडकलाई चार लेनमा विस्तार गर्ने काम सुरु भएको हो ।

कुल ९६ किलोमिटर सडक निर्माणका लागि प्रतिकिलोमिटर करिब ४७ करोड रुपैयाँ पर्ने देखिन्छ । सडक विस्तार कार्यलाई तीन खण्डमा विभाजन गरेर निर्माणका लागि ठेक्का आह्वान गरिएको छ । यस अन्तर्गत सडक खण्डमा पर्ने ६ वटा पुल निर्माणसमेतको काम रहेको छ । यसको पहिलो खण्डमा निन्दा, बिरिङ र कन्काई नदी प्रमुख रहेका छन् ।

यस्तै दोस्रो खण्डमा रतुवा, बक्राहा र लोहन्द्रा पुल निर्माणका लागि पनि ठेक्का आह्वान गरिएको छ । आयोजनाका अनुसार सडक विस्तार कार्य तीन वर्षमा सम्पन्न हुने बताइएको छ । राजमार्गको केन्द्रबाट २५-२५ मिटरले सडकको स्तरोन्नती हुनेछ । सडकलाई तीन भागमा विभाजित गरिएको छ ।

जसमा ग्रामीण तथा वन क्षेत्रमा २४ मिटर, अर्ध शहरी क्षेत्रमा ३३ मिटर र शहरी क्षेत्रमा सर्भिस लेनसहित ५० मिटर चौडाइको सडक क्षेत्र हुने काँकरभिट्टादेखि लौकही सडक पूर्व खण्ड आयोजना दमक कार्यालयका इन्जिनियर आशीष देवले जानकारी दिए । इन्जिनियर देवका अनुसार सडक विस्तार गर्दा सडक क्षेत्रमा पर्ने रुख कटानको लागि पहिलो चरणमा झापाबाट रुखको नम्बरिङ र मूल्याङ्कनको काम सुरु भएको छ ।

त्यसैगरी ‘साइड क्लियरेन्स’को काम पनि एकै साथ भइरहेको आयोजनाले जनाएको छ । पूर्वी खण्डको ठेक्का अजरबैजानको कम्पनी युरो एसियन कन्स्ट्रक्सन कर्पोटले पाएको छ । उसले १० अर्ब रुपैयाँमा ४५ किलोमिटर सडक निर्माणको काम गर्ने गरी ठेक्का पाएको हो । अजरबैजानको कम्पनीसँग कालिका कन्स्ट्रक्सन ज्वाइन्ट भेन्चर रहेको छ । यस्तै पूर्वी खण्डका लागि भने चाइना रेलवे फर्स्ट ग्रुपले ठेक्का पाएको छ । जसको लागत ९ अर्ब १३ करोड रुपैयाँ रहेको छ ।

चिनियाँ कम्पनी फर्स्ट ग्रुपसँग नेपाली कम्पनी तोदी कन्स्ट्रक्सनको ज्वाइन्ट भेन्चर रहेको छ । यस्तै ८५ देखि ९७ किलोमिटरसम्मको इटहरी खण्डका लागि भने चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप लिमिटेडले ठेक्का पाएको छ । सो कम्पनीसँगको ज्वाइन्ट भेन्चर पनि तोदी कन्स्ट्रक्सन रहेको इन्जिनियर देवले जानकारी दिए ।

१२ किलोमिटर सडक र ३ सय मिटरभन्दा छोटा पुल निर्माणका लागि ४ अर्ब ७ करोड रुपैयाँमा ठेक्का लागेको पनि इन्जिनियर देवले जानकारी दिए । आयोजनाका अनुसार पूर्वी र इटहरी खण्डमा पर्ने खोलाहरूको पुल निर्माण सम्झौता भएका कम्पनीहरूले गर्नुपर्ने छ । ३ सय मिटरभन्दा लामा पुल निर्माणका लागि चाइना रेल्वे ग्रुप २ र युरो एसियन कन्स्ट्रक्सन कर्पोरेसनले ठेक्का पाएको छ ।

जसअनुसार यी कम्पनीले निन्दा, बिरिङ, कनकाई, रतुवा, बक्राहा र लोहन्द्रा पुल निर्माणको ठेक्का पाएका छन् । यी ६ वटा पुलको लागत ६ अर्ब रुपैयाँ रहेको छ । सडक क्षेत्रमा रहेका ४ सय ४ वटा अस्थायी संरचना हटाउनुपर्ने पनि छ । संरचना हटाउने प्रक्रिया सुरु भइसकेको जनाइएको छ । सडक विस्तारका लागि सडक क्षेत्रभित्र पर्ने ११ हजार ५ सय १३ वटा रुख कटानको काम पनि सुरु भएको छ ।

एसियाली राजमार्ग अन्तर्गत काँकरभिट्टाको डेढ किलोमिटर भागमा मेची पुल र चार लेनको सडक निर्माण भइसकेको छ । बङ्गलादेशबाट भारतको बागडोग्रा हुँदै पानीट्याङ्की नाकाबाट नेपालतिर सोझिने एसियाली राजमार्गको रुट नं. २ अन्तर्गत भारतले मेची नदीमा एसियाली राजमार्गस्तरकै पक्की चार लेनको पुल निर्माण गरिदिएको हो ।

स्थलमार्गबाट एसियाका देशलाई जोड्दै व्यापार र पर्यटन प्रवर्द्धन गर्ने मूल उद्देश्य यस राजमार्गको हो । थाइल्यान्डको बैंककबाट सुरु हुने रुट-२ अन्तर्गत म्यान्मार, बङ्गलादेश र भारत हुँदै एसियाली राजमार्ग नेपालको काँकरभिट्टाबाट पूर्व-पश्चिम राजमार्गमा मिसिन्छ ।

यो राजमार्ग हालको पूर्व-पश्चिम राजमार्ग भएर पश्चिम नेपालको बनबासा हुँदै भारतको दिल्लीतर्फ जोडिने छ । झापामा ५४ दशमलव ९ किलोमिटर, मोरङमा २६ दशमलव २ किलोमिटर र सुनसरीमा २८ दशमलव ९ किलोमिटर सडकको स्तरोन्नती हुनेछ ।

प्रतिकृया दिनुहोस्