News Portal

जेसीज नकआउट फुटबल : रोलिङ क्लब धुलाबारी सेमिफाइनलमा

रातोपोस्ट संवाददाता
३२६ पटक

झापा, १६ चैत । रोलिङ क्लब धुलाबारीले शुक्रबार शनिश्चरे फुटबल क्लबलाई पराजित गर्दै कार्गिल सहिद सुरेश थापा क्षेत्रीको स्मृतिमा जारी दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनल तय गरेको छ । शनिश्चरे फुटबल क्लबमाथि २–१ को संघर्षपूर्ण जीत निकाल्दै धुलाबारी सेमिफाइनल प्रवेश गर्ने दोश्रो टोली बनेको हो ।

रोलिङ क्लब धुलाबारीका लागि १९ औँ मिनेटमा पुजन राईले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसैगरी, धुलाबारीका लागि २६ औँ मिनेटमा निरज कार्कीले टिमको अग्रता दोब्बर बनाएका थिए । अभय धिमालको क्रस पासलाई सदुपयोग गर्दै हेडमार्फत कार्कीले बललाई जाली चुमाएका थिए । पहिलो हाफ २–० ले पछाडि परेको शनिश्चरेले दोश्रो हाफमा केही उत्कृष्ट मुभ बनाएको थियो । दोश्रो हाफको १० औँ मिनेटमा शनिश्चरेका निमा तामाङले गरेको प्रहार धुलाबारीका गोलरक्षक आकाश खड्काले बचाए । लगत्तै १ मिनेटमा शनिश्चरेका सौरभ लिम्बूले गरेको क्रस पासलाई सदुपयोग गर्दै प्रदिप बुढाथोकीले गरेको हेड दोश्रो बारमा लाग्दै फर्किएको थियो ।

शनिश्चरेका लागि खेलको ६२ औँ मिनेटमा सौगात तामाङले गोल गर्दै खेलमा फर्काउने प्रयास गरेका थिए । ६६ औँ मिनेटमा शनिश्चरेका सौगात तामाङकै प्रहारलाई धुलाबारीका अनुशरण राईले डिफेन्स लाइनबाट क्लियर गरेका थिए । थप गोल गर्न शनिश्चरेको प्रयास धुलाबारीका डिफेन्स बाधक बन्दा खेल धुलाबारीले २–१ ले जितेको थियो । झापा ११ बाट ‘बी’ डिभिजन खेलिसकेका अधिकांश खेलाडी मैदान उतारेको शनिश्चरे फुटबल क्लबको खेलमा दबदबा रहे पनि स्कोर गर्न नसक्दा खेल गुमाउनु परेको थियो । खेलको म्यान अफ दी म्याच धुलाबारीका निरज कार्की घोषित भएसँगै नगद १ हजार ५ सय रुपैयाँ, ट्रफी प्राप्त गरे ।

बाहुनडाँगी जेसीजको आयोजनामा चैत १५ देखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठवटा टिमले सहभागिता जनाएका छन् । बिजेता टिमले एक लाख १ हजार ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ५१ हजार नगदसहित ट्रफी मेडल र प्रमाण पत्र पाउनेछन् । त्यसैगरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, सर्वाधिक गोलकर्ता, उदयमान खेलाडीले नगद ५ हजारसहित ट्रफी र मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । बाहुनडाँगी जेसीज सचिवालय निर्माण गर्ने हेतुले आयोजित फुटबल प्रतियोगितामा झापा गोल्डकप र जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहेको छ । भोलिको खेल सनसिटी फुटबल क्लब र ब्रदर्स युनाइटेड चन्द्रगढी हुने आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्