News Portal

रोमाञ्चक खेलमा दक्षिण अफ्रिकासँग नेपाल १ रनले पराजित, सुपर-८ सम्भावना सकियो

रातोपोस्ट संवाददाता
३२ पटक

काठमाडौं, १ असार । जारी आईसीसी टी-२० विश्वकप क्रिकेटमा नेपाल बलियो टेस्ट राष्ट्र दक्षिण अफ्रिकासँग पराजित भएको छ । शनिबार बिहान सम्पन्न रोमाञ्चक खेलमा जितको निकै नजिक पुगेको नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको हो ।

दक्षिण अफ्रिकाले दिएको ११६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११४ रन मात्रै बनाउन सक्यो ।

अन्तिम ओभरमा जितका लागि नेपाललाई ८ रन चाहिएको थियो । शुरूका दुई बल डट खेलेका गुल्सन झाले तेस्रो बलमा चौका प्रहार गरे र चौथो बलमा दुई रन लिए । पाँचौं बल फेरि डट खेलेका उनी अन्तिम बलमा रन आउट भए र नेपालले पीडादायी हार व्यहोर्नु पर्‍यो ।

पराजित भएसँगै नेपालको सुपर-८ सम्भावना सकिएको छ । नेपाललाई अन्तिम आठमा स्थान बनाउन दक्षिण अफ्रिका विरुद्धको आजको खेल जित्नैपर्ने दबाब थियो। दक्षिण अफ्रिका भने समूह ‘डी’बाट सुपर आठमा पुगिसकेको छ । नेपालमा लागि आशिफ शेखले सर्वाधिक ३२ रन बनाए । ४९ बल खेलेका उनले चार चौका र एक छक्का प्रहार गरे ।

यस्तै अनि शाहले २७ बनाए । २४ बल खेलेका उनले तीन चौका र एक छक्का प्रहार गरे । दीपेन्द्र सिंह ऐरीले ६ रन बनाए । यसअघि कुशल भुर्तेल १३ रन बनाएर आउट भएका थिए । २३ बल खेलेका उनले एक चौका र एक छक्का प्रहार गरे ।

कप्तान रोहित पौडेल शून्यमै आउट भए भने कुशल मल्ल १ रन बनाएर आउट भए । गुल्सन झाले ६ र सोमपाल कामीले ८ रन बनाए । यसअघि वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रङ्गशालामा टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११५ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाका लागि रिजा हेन्डरिक्सले ४३ रन बनाए । ट्रिस्टन्स स्टुब्सले २७, आडन माक्रमले १५ रन बनाए । क्वीनटन डिकक १०, हेनरिच क्लासेन ३ र डेविट मिर ७ रनमा आउट भए । ट्रिस्टन स्टब्सले १८ बलमा २७ रनको योगदान दिए । कप्तान एडेन मार्क्रमले २२ बलमा १५ रन बनाए । क्वीन्टन डी ककले ११ बलमा १० रन जोडे ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल र सन्दीप लामिछानेले सानदार बलिङ गरे । भुर्तेलले चार तथा ऐरीले तीन विकेट लिए । ४ ओभर बलिङ गर्दै भुर्तेलले १९ रनमात्र दिए । त्यस्तै, ऐरीले ४ ओभर बलिङ गर्दै मात्र २१ रन खर्चिए । यस खेलमा कम्ब्याक गरेका सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दै मात्र १८ रन खर्चिए पनि विकेट भने लिन सकेनन् ।

दक्षिण अफ्रिकाले यसअघि खेलेको तीन वटै खेलमा जीत हासिल गरेको थियो । उसले श्रीलङ्का, बङ्गलादेश र नेदरल्याण्डसलाई पराजित गर्दै एक खेलअगावै सुपर आठमा पुगेको हो । त्यस्तै नेपालले यसअघि खेलेका दुईमध्ये एकमा हार तथा एउटामा बराबरी खेलेको थियो । नेपाल पहिलो खेलमा नेदरल्यान्डसँग पराजित भएको थियो भने श्रीलङ्का विरुद्धको दोस्रो खेल वर्षाका कारण रद्द हुँदा दुवै टोलीले एक/एक अङ्क बाँडेका थिए । नेपालले अब आफ्नो अन्तिम खेल सोमबार बंगलादेशविरुद्ध खेल्ने छ ।

प्रतिकृया दिनुहोस्