झापा, ४ असार । झापाका विभिन्न स्थानमा भारी वर्षा भएको छ । वषौसँगै आएको बाढीले मकै बलाीमा क्षति पुगेको छ । बिहानैदेखिको भारी वर्षाका कारण पछिल्लो चार घण्टामा झापाको दमक, कनकाई, मेचीनगर र विर्तामाेडका आसपासको क्षेत्रमा मध्यमदेखि भारी वर्षा भइरहेको छ ।
थप वर्षा हुनसक्ने भएकाले सो क्षेत्र भई बहने स–साना खोलाहरूमा बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा रहनेहरूले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । तीन दिनयता लगातार परेको पानीको कारण कनकाई माई खोलामा आएको बाढीले झापा गाउँपालिकामा मकैबाली नष्ट भएको छ ।
झापा-२ सुगाबथान टोल नजिकमा स्थानीय कृषकले अन्दाजी ५० बिघामा लगाएको मकै खेतीमा पानी पसेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यसैबीच, वर्षासँगै परेको चट्याङका कारण झापा ३ गौरीगाउँस्थित धनप्रसाद पौडेलको २ बिघा खेतको परालमा आगलागी भएको छ । अविराल बर्षासहित परेको चट्याङ लागेर हिजाे साेमबार विहान मेचीनगर– ३ भावना टोलमा गोठमा बाँधी राखेको दुई वटा राँगा मरेका छन् ।