News Portal

मेचीनगरमा वैदेशिक रोजगारीबाट फर्किएकाहरु सङ्गठित हुँदै, शिवाकोटीको अध्यक्षतामा नगर सञ्जाल गठन

रातोपोस्ट संवाददाता
४३ पटक

झापा, १९ असार । मेचीनगरमा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूलाई सङ्गठित गर्दै नगर सञ्जाल गठन गरिएको छ । मेचीनगर नगरपालिका मंगलबार सुरक्षित आप्रवासन (सामी) कार्यक्रम झापाले अनिल शिवाकोटीको अध्यक्षतामा नगर सञ्जाल गठन गरेको हो । गठित सञ्जालको उपाध्यक्षमा दिनानाथ खतिवडा, सचिव रविन राउत, सहसचिवमा कोषराज भट्टराई र कोषाध्यक्षमा बुद्धिमता अधिकारी चयन भएका छन् ।

त्यसैगरी सदस्यहरूमा मनोज कटवाल, शोभा खड्का, पर्शुराम गिरी, दर्पण भण्डारी, वेदनाथ घिमिरे, लीला कट्टेल, राजकुमार घिमिरे र युवराज कटवाल रहेका छन् । साथै उनीहरूलाई क्षमता विकास अभिमुखीकरण समेत दिइएको छ ।

नगर भित्र वैदेशिक रोजगारीका विषयमा विभिन्न प्रकारका सूचना तथा परामर्श गरी जनचेतना फैलाउने सामी परियोजना झापाका कार्यक्रम संयोजक शेखर बुढाथोकीले बताए । समिति नभएका कारण देखिएका समस्या सम्बन्धित निकायमा पुर्‍याउन नसक्दा समाधान नहुने विषयलाई ध्यानमा राखी अब समिति मार्फत वैदेशिक रोजगारका बारेमा जानकारी पाउन सजिलो भएको उनले बताए ।

कार्यक्रममा रोजगार परामर्श कर्ता (रेमी)का नगर संयोजक फणीन्द्र प्रसाद दाहालले वैदेशिक रोजगारको वर्तमान अवस्था, सवाल, समाधानका उपायहरू, सरोकारवाला निकाय जिम्मेवारी र नवीनतमको बारेमा सहभागीहरूलाई जानकारी गराएका थिए । सामाजिक विकास समिति संयोजक हृदयचन्द्र राजवंशीको अध्यक्षता तथा नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सामाजिक विकास शाखाका वरिष्ठ प्रशासकीय अधिकृत अनन्त प्रसाद बस्तीले स्वागत गरेका थिए ।

प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले कार्यक्रमको औचित्यमाथि प्रस्ट पारेका थिए । कार्यक्रमको सहजीकरण सामी संयोजक बुढाथोकीले गरेका थिए । सामीले यसअघि भद्रपुर र दमकमा नगर सञ्जाल गठन गरिसकेको छ । गौरीगञ्ज गाउँपालिका सञ्जाल गठन हुन बाँकी रहेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्