News Portal

शवसहित जनकपुरधाममा मिटरब्याज पीडितको प्रदर्शन

रातोपोस्ट संवाददाता
१०५ पटक

जनकपुरधाम, १७ साउन । आइतबार कुटपिटबाट हत्या गरिएका धनुषाधाम नगरपालिका- २ मंगलपुरका ४५ वर्षीय भोगेन्द्र ठाकुरको शवसहित जनकपुरधाममा मिटरब्याज पीडितहरूले प्रदर्शन गरेका छन् ।

बिहीबार ठाकुरको शव लिएर मिटर ब्याज पीडितहरूले जनकपुरधाममा प्रदर्शन गरेका हुन् । मंगलबारदेखि स्वर्गद्वारीमा शव राखेर धर्ना दिएका मिटरब्याज पीडितहरूले बिहीबार जनकपुरधाम बजारमा प्रदर्शन गरेका हुन् ।

उनीहरूले ठाकुरको शव ट्याक्टरमा राखेर जनकपुरधामको विभिन्न चोक हुँदै मुख्यमन्त्री कार्यालय तर्फ गएकोमा प्रहरीले उनीहरूलाई रोकेका थिए । ठाकुरको सोमबार बिहान घरमै कुटपिट गरी हत्या भएको थियो भने उनकी श्रीमती श्यामु ठाकुर गम्भीर घाइते छिन् ।

हत्या आरोपमा प्रहरीले स्थानीय ४५ वर्षीया सुरजी मुखिया र उनका छोरा २१ वर्षीया नागेश्वर मुखिया पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । तर ठाकुरलाई ऋण दिने शिवजी यादव, मुकेश मुखिया, सुरज मुखिया, चान्दी मुखिया र मनिष मुखियालाई पक्राउ नगरेसम्म शव नजलाउने मिटरब्याज पीडित संघर्ष समितिका केन्द्रीय अध्यक्ष मनोज पासवानले बताए ।

प्रतिकृया दिनुहोस्