News Portal

मेचीनगरले नसुनेपछि ६ दल झन् आक्रोशित, भदौमा आन्दाेलन गर्ने चेतावनी

रातोपोस्ट संवाददाता
१५० पटक

झापा, ३० साउन । मेचीनगर नगरपालिका नेतृत्वको कार्यशैली जनहितकारी नभएको भन्दै ६ दलले भदौबाट चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । नगर नेतृत्व स्वेच्छाचारिता ढंगले अघि बढेको भन्दै छ दल आक्रोशित बनेको हो ।
केन्द्रीय सरकारमा एमालेसँगै रहेको नेपाली कांग्रेससहित ६ वटा राजनीति दलले मेचीनगरविरुद्ध चरणबद्ध आन्दोलन गर्ने भएका बुधबार धुलाबारीमा पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । मेचीनगर नगरपालिकामा एमालेको दुई तिहाई बहुमत रहेको छ ।

गत साउन १८ गते नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना उप्रेतीलाई कार्यशैली सच्याउन माग गर्दै २१ बुँदे ज्ञापन पत्रमार्फत ६ वटा दलले ध्यानाकर्षण गराएका थिए । नगरका नेतृत्वले ६ दलले गराएको ध्यानाकर्षणको विषयमा कुनै प्रतिक्रिया नदिएको भन्दै चरणबद्ध आन्दोलन गर्ने निर्णय लिएको कांग्रेसका महासमिति सदस्य तथा निवर्तमान मेयर बिमल आचार्यले बताए ।
नगरले विकास निर्माण लगायतका विकृति र भ्रष्टाचार तथा चरम अनियमितता भएको, राजनीति महत्वका योजना फेरबदल गरेको, जनप्रतिनिधि र कर्मचारीबीच प्रभावकारी समन्वय नहुँदा जनताले सास्ती भोग्नु परेको, पूर्व तयारीबिना नै लगाइएको ठेक्कापट्टामा अपारदर्शी लेनदेन भएको, नगर स्वास्थ्य अस्पताल, कृषि मण्डी, भ्यु–टावर, बहुजातीय सांस्कृतिक संग्रहालय लथालिंग र अलपत्र बनाएर राज्यको लगानीको दुरुपयोग गरेको, टोल विकास संस्था गठनदेखि उपभोक्ता समिति गठनमा अनियमितता भएको जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

नगरको नेतृत्वले गरेको भ्रष्टाचार नसुधारे आन्दोलनलाई निष्कर्षमा पुर्याउने माओवादी केन्द्रका क्षेत्रीय अध्यक्ष माधव अर्यालले बताए । ‘हाम्रो आन्दोलन जनताको हितका लागि हो,’ नेपाली कांग्रेसका क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीले भने, ‘मेचीनगरमा एमालेको बहुमत रहेको छ । एमाले विरुद्धको आन्दोलन होइन । नगरमा मौलाएको बेतिथि, स्वेच्छाचारिता र भ्रष्टाचारको विरुद्धमा शान्तिपूर्ण आन्दोलन हो ।’ माओवादी केन्द्रका क्षेत्रीय अध्यक्ष माधव अर्यालले नगरको अहिलेको बजेट, विभिन्न योजनाहरू, कर्मचारीबीच विवाद, पटके सवारी कर, विकास निर्माण लगायतका कामहरूमा विभेद र समयमा सम्पन्न गर्न नसकेको बताए । माओवादी केन्द्रका नगर अध्यक्ष राजन चिमरियाले नगरवासीप्रति नगरपालिका निरीह भएकाले अन्तिम आन्दोलन हुनसक्ने चेतावनी दिए । राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति कमल गाैतमले नगरवासीका अधिकारका निम्ति भदाैदेखि सशक्त आन्दोलन गर्ने बताए ।

मेचीनगरको छुट जग्गा वर्गीकरण प्रक्रियाले सर्वसाधारणले सास्ती भोग्दै आएकाले त्यसलाई छिटो–छरितो बनाउनुपर्ने, मेचीनगरले अनुगमन नगर्दा नियम मिचेर निन्दा खोलामा उत्खनन गरेकै कारण शिक्षक धनराज भण्डारीको डुवेर मृत्यु भएको बिषयलाई सत्यतथ्य बाहिर ल्याउनुपर्ने, मेचीनगर–४ का वडाध्यक्षले नगरपालिकामा भ्रष्टाचार बढेको भनी लगाएको आरोपको छानबिन गरी दोषीमाथी कार्बाही गर्नुपर्ने, नगरका गौरवका योजनाहरु तय गर्दा व्यापक छलफलपछि निर्णय गर्नुपर्नेमा गत आबमा कृषिमण्डीको रुपमा राखिएको जग्गालाई चालु आवमा खेल मैदानको व्यवस्था गरिएकोले त्यसलाई हेरफेर गरिनुपर्ने लगायतला २१ बुँदे ज्ञापन पत्र बुझाइएको थियो ।

पत्रकार सम्मेलनमा काँग्रेस क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकी, माओबादी केन्द्रका तर्फबाट क्षेत्रीय सभापति माधव अर्याल, रास्वपाका तर्फबाट क्षेत्रीय अध्यक्ष भीमबहादुर कुँवर, नेकपा एकीकृत समाजबादीका तर्फबाट जिल्ला सचिव विपी भट्टराई, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष राजन चिमरिया, नेपाली काँग्रेस नगरका कार्यवाहक सभापति योगन्द्र थापा मगर, रास्वपा मेचीनगर सभापति कमल गौतम, नेकपा एकिकृत समाजवादीका नगर अध्यक्ष हरि तिम्सिना, एकिकृत समाजवादीकै जिल्ला कार्यालय सचिव पर्शुराम शंकर र जसपाका नगर अध्यक्ष ओमप्रकाश खापुङलगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्