News Portal

मेचीनगरमा हात्तीको बङ्गारासहित एक जना पक्राउ

रातोपोस्ट संवाददाता
१४२ पटक

झापा, २५ भदौ । झापाकाे मेचीनगरमा जङ्गली हात्तीको बङ्गारा, दाँत, पुच्छर, खुर, सहित एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर- ९ का खगेन्द्र चापागाईँ रहेको डिभिजन वन कार्यालय झापाले जनाएको छ । संरक्षित वन्यजन्तु हात्तीको अङ्गसहित उनलाई आज लामो समयको सुराकपश्चात् डिभिजन वन कार्यालय झापा, सब डिभिजन वन कार्यालय धाइजन र धुलाबारी प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो ।

डिभिजन वन कार्यालय झापाका सिनियर वन अधिकृत जीवन पाठकका अनुसार चापागाईँका साथबाट ८ केजी बङ्गारा, दाँत, पुच्छर, खुर, नङ्ग्रा लगायतका शरीरका विभिन्न अङ्ग बरामद गरिएको छ । उनले भण्डारण गरेर राखेको कोठाबाट अङ्गहरू वन कर्मचारी र प्रहरीले बरामद गरेका थिए । चापागाईँले लामो समयदेखि विदेश जाने प्रक्रियामा रहेका युवालाई महँगोमा औषधिको रूपमा उक्त अङ्ग मिश्रित सामग्री बेच्ने गरेको खुल्न आएको छ ।

विदेश जाने प्रक्रियामा मेडिकल गर्दा छातीमा दाग देखिएका युवालाई दाग हटाउनका लागि मोटो रकम लिएर औषधिको रुपमा बिक्री गर्दै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

पक्राउ परेका चापागाईँसहित उनका बुवा र बाजे जडीबुट्टीको काम गर्दै आएको प्रहरीले जनाएको छ । हात्तीका अङ्गलाई धुलो बनाएर अन्य औषधिमा मिसाएर उनले बेच्ने गरेको पाइएको छ । चापागाईँलाई डिभिजन वन कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको बताइएको छ । झापामा वन्यजन्तुको अङ्गसहित व्यक्ति पक्राउ गरेको यो घटना अहिलेसम्मकै ठुलो मानिएको छ ।

प्रतिकृया दिनुहोस्