News Portal

लागूऔषध बिक्रीमा संलग्न डा.ढाका कुमार श्रेष्ठ पक्राउ

रातोपोस्ट संवाददाता
७० पटक

पोखरा, २८ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टीबाट निस्कासित भएका पूर्वसांसद डा. ढाकाकुमार श्रेष्ठ लागुऔषध कारोबार कसूरमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई बिहीबार पक्राउ गरेको हो ।

गत ३ साउनमा पोखराबाट रोल्पा त्रिवेणी–७ का ४२ वर्षीय प्रकाश थापामगर लागु औषधसहित पक्राउ परेका थिए । ट्रुपेन (टपेन्टाडोल) नाम भएको ट्ब्याबलेट ९७ चक्कीसहित उनी पोखरा वडा नं. २, बागलुङ बसपार्कबाट पक्राउ परेका थिए । अनुसन्धानमा क्रममा प्रकाशले पोखरा ९, पृथ्वीचोकस्थित दिया फार्मेसीबाट खरिद गरी ल्याएको बयान दिएपछि उक्त फार्मेसीका सञ्चालक श्रेष्ठलाई बिहीबार पक्राउ गरिएको जिप्रका कास्कीका प्रहरी निरीक्षक अविनाश दिप जिसीले जानकारी दिए ।

पोखरा वडा नं. २४ निवासी ४२ वर्षीय श्रेष्ठलाई कास्की जिल्ला अदालतबाट कानुनबमोजिम पक्राउ अनुमति लिई पक्राउ गरेर थप आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीको भनाई छ । श्रेष्ठमाथि सहकारीको रकम हिनामिना गर्नेदेखि गर्भपतन गराउने नाममा अवैध धन्दा सञ्चालन गर्दै आईरहेको आक्षेप लाग्ने गरेको छ । पक्राउ परेका श्रेष्ठ २०७९ को आमनिर्वाचनमा समानुपातिक कोटाबाट प्रतिनिधिसभा सदस्य बनेका र गत वर्ष ‘टेप प्रकरण’का कारण पार्टीबाट निस्कासित भएका थिए ।

प्रतिकृया दिनुहोस्