News Portal

सचिवालय बैठक सम्पन्न : अब नेकपा संकटको समाधान स्थायी कमिटीबाट

रातोपोस्ट
५०९ पटक

काठमाडौं, २० मंसिर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक सम्पन्न भएको छ । शनिबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठक भर्खरै सम्पन्न भएको छ ।

बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले मंसिर १३ गते प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कात्तिक २८ गते पेश गरेको प्रस्तावमाथि छलफल भएको छ ।

छलफल निष्कर्षमा नपुगेपछि थप छलफल स्थायी कमिटीमा गर्नेगरी बैठक सम्पन्न भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘अब उक्त बैठकमै पार्टीको संकट त्यसको निवारण र निकासको सम्बन्धमा छलफल हुनेछ’, प्रवक्ता श्रेष्ठले भने, ‘बैठकमा पार्टीमा अहिलेसम्म प्रस्तुत भएका प्रस्तावहरु प्रस्तुत हुन्छन् ।’ नेकपाको स्थायी कमिटी बैठक आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्दैछ ।

यसअघि १८ गतेका लागि बोलाइएको स्थायी कमिटी बैठक सचिवालय बैठक लम्बिएपछि २१ गतेका लागि सारिएको थियो । स्थायी कमिटी बैठक लगत्तै मंसिर २५ गतेदेखि केन्द्रीय समिति बैठक बोलाइएको छ।

‘उहाँहरुको बीचमा आज छलफल भयो । छलफल पार्टीको स्वभाविक रुपमा समस्या र समाधानमा नै केन्द्रित थियो । तर, आजकै छलफलले निष्कर्ष निकाल्न सम्भव थिएन’, पत्रकारसँग कुरा गर्दै श्रेष्ठले भने, ‘आवश्यक परे स्थायी कमिटीको विषमा सचिवालया सदस्यको अनौपचारिक छलफल हुनेछ ।’

के हो विवाद

कात्तिक २८, मंसिर ३, १३ र १६ गतेको सचिवालय बैठकमा अध्यक्षबीच ‘छेडछाड’ र व्यङ्ग्य वाण मात्र चलेको थियो। प्रचण्डले कात्तिक २८ गते दर्ता गरेको १९ पृष्ठको राजनीतिक प्रतिवेदनले ओली र प्रचण्डको दूरी अझ बढाएको छ। उक्त प्रतिवेदनलाई ओलीले ‘आरोप-पत्र’को संज्ञा दिएका छन्।

प्रचण्डको प्रतिवेदनको जवाफमा अध्यक्ष ओलीले मंसिर १३ गतेको सचिवालय बैठकमा ३८ पृष्ठको राजनीतिक प्रतिवेदन बुझाएका छन्। ओलीको प्रतिवेदनका ५३ बुँदामध्ये अधिकांश बुँदामा प्रचण्डमाथि प्रश्न गरिएको छ।

ओलीले प्रचण्डलाई प्रतिवेदन फिर्ता लिन माग गर्दै उक्त प्रतिवेदन खारेज भएको घोषणा समेत गरेका छन्। प्रचण्डले भने ओलीको एकल निर्णयले पार्टी र सरकार नचल्ने भन्दै आफ्नो अडानबाट टसमस नहुने प्रष्ट पारेका छन्। यही विवाद अब स्थायी कमिटीमा पुगेको हो ।

पार्टी विवाद उत्कर्षमा पुगेपछि अध्यक्षद्वयको संवाद ठप्प हुँदा दुवै अध्यक्षका दूतहरुको दौडधुप गरेका छन् । बिहीबार पार्टी विवाद समाधानको विषयमा छलफलका लागि प्रचण्ड निवास खुमलटारमा महासचिव एवम् अर्थमन्त्री विष्णु पौडेल र नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ पुगेका थिए। त्यसकै निरन्तरता स्वरुप शुक्रबार बिहानै उपप्रधानमन्त्री ईश्वर पोखरेल खुमलटार पुगेका थिए।

खुमलटार पुगेका ओली निकट नेताले दुवै प्रस्तावको अध्ययन गरेर साझा प्रस्ताव बैठकमा पेश गर्नुपर्ने कुरामा जोड दिएका थिए। यो छलफलमा प्रचण्ड भने सकारात्मक छैनन् ।अन्नपूर्णपोस्ट

प्रतिकृया दिनुहोस्