News Portal

सरस्वतीको मन्दिर उद्घाटन

रातोपोस्ट संवाददाता
८३३ पटक

 इलाम । रोङ गाउँपालिका ६ स्थित लामिटार आधारभूत विद्यालयको प्राङ्गणमा निर्माण गरिएको सरस्वतीको मन्दिर उद्घाटन गरिएको छ ।

सरस्वती पूजाको अवसर पारेर विद्यालय परिसरमा बिहीबार आयोजित एक कार्यक्रमकाबीच नव निर्मित सो मन्दिरको विधिवत् उद्घाटन गरिएको हो । यहि माघ ८ गते प्राण प्रतिष्ठा गरिएको मन्दिरको उद्घाटन सो गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष मणिकुमार स्याङ्वोले गरेका हुन् ।

सरस्वतीको पूजा आराधनापछि प्रमुख अतिथि स्याङ्वोले शिलालेखमा उल्लेखित दाताहरुको नाम वाचन गरी मन्दिरको औपचारिक उद्घाटन गरेका थिए । सो अवसरमा प्रमुख अतिथि वडा अध्यक्ष स्याङ्वो, विशिष्ट अतिथि सो विद्यालयका पूर्व सहायक प्रधानाध्यापक पिताम्बर शर्मा(पौडेल), अतिथि हात्तीखर्क सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सुकराम राईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

त्यसक्रममा मन्दिर निर्माण समितिका संयोजक विपन राई, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष बुद्धराम चाम्लिङ, मन्दिर निर्माणका सहयोगी दाता अभिमन्यु श्रेष्ठ, निना श्रेष्ठलगायतको आतिथ्यता थियो । उक्त मन्दिर बनाउन विभिन्न क्षेत्रका दाताहरुले ५० रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म स्वेच्छिक रुपमा आर्थिक सहयोग प्रदान गरेका निर्माण समितिले जनाएको छ ।

मन्दिर निर्माणमा सघाउ पुर्याउने दाताहरुमध्ये ३० जनालाई सरस्वती पूजाको सन्दर्भ पारेर आयोजित कार्यक्रममा सम्मान पत्रसहित सम्मान गरिएको थियो । विद्यालयका प्रधानाध्यापक लाखबहादुर साँवाका अनुसार ठेकेदारहरु हेमन्त भारती र अमर श्रेष्ठले कूल १ लाख ९५ हजार रुपैयाँको लागतमा सो मन्दिर निर्माण गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रबहादुर राईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत शिक्षिका मीनादेवी राई र सञ्चालन प्रधानाध्यापक लाखबहादुर साँवाले गरेका थिए ।

प्रतिकृया दिनुहोस्