News Portal

चिकित्सक मृत्युको घटना छानबिन गर्न प्रदेश सांसदको माग

रातोपोस्ट संवाददाता
३११ पटक

जनकपुरधाम,२४ जेठ । मधेश प्रदेशका सांसदले विराटनगरमा तीन महिनाअघि सप्तरीका चिकित्सक डा. विजय यादव मृत फेला परेको विषय छानबिन गर्न माग गरेका छन् ।

प्रदेश सभाको मंगलबार बसेको बैठकमा सप्तरीका सांसदले विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा कार्यरत डा. यादवको हत्या भएको र प्रहरीले आत्महत्यामा परिणत गर्न खोजेको आरोप लगाए ।सप्तरीको बिष्णुपुर गाउँपालिका वडा नम्बर १ निवासी २७ बर्षीय यादव १९ चैत २०७८ को बिहान विराटनगर ४ स्थित आफ्नो कोठाको अगाडि मृत फेला परेका थिए ।

नेकपा एमालेका संसदीय दलका नेता सत्यनारायण मण्डलले मेडिकल माफिया मिलेर डा. यादवको हत्या गरेको दावी गर्दै पीडित परिवारलाई न्याय दिलाउन माग गरे । ‘डा. यादव एक गरीबका होनहार छोरा थिए, जसलाई मेडिकल माफियाले हत्या गरेका छन्’ उनले भने, ‘यो हत्यालाई आत्महत्यामा परिणत गर्न खोजिदैछ । त्यसैले मधेश सरकारले यसतर्फ गम्भीर बन्नु जरुरी छ ।’

नेपाली कांग्रेसका सांसद मो. समीमले मृतकका बुवा यदुनन्दन यादवले विदेशमा श्रम गरेर आफ्ना एक्ला छोरा विजयलाई चिकित्सक पढाएको बताउँदै उनको हत्याले परिवारमाथि बज्रपात भएको बताए ।यो हत्याको अनुसन्धान गर्न सकिएको छैन, जसले पीडित परिवार अझ पीडित बन्दै गएका छन्’ उनले भने, ‘दोषीलाई पक्राउ गरी कारवाही गराउनेतर्फ प्रदेश सरकारले ध्यान दिनु जरुरी छ ।’

प्रतिकृया दिनुहोस्