News Portal

धनुषाका सात पालिका बाढीजन्य विपद्को उच्च जोखिममा

रातोपोस्ट संवाददाता
२८८ पटक

जनकपुरधाम, २८ जेठ । बाढीजन्य विपद्को दृष्टिकोणले धनुषाको १८ स्थानीय तहमध्ये सातवटा पालिका उच्च जोखिममा छन् । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार विभिन्न नदीमा आउने बाढीका कारण नदी आसपासमा पर्ने धनुषाको सातवटा पालिका उच्च जोखिममा छन् । धनुषाको कमला नगरपालिका, शहिदनगर नगरपालिका, सबैला नगरपालिका, नगराइन नगरपालिका, धनौजी गाउँपालिका, मुखियापट्टी मुसहरनियाँ गाउँपालिका र जनकनन्दनी गाउँपालिका बाढीजन्य विपद्को हिसाबले उच्च जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिका सभापति तथा धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।

बाढी पहिरोको उच्च जोखिममा रहेका स्थानीय तहका विभिन्न वडाले बर्सेनि डुबान र कटानको समस्या भोग्दै आएका छन् । उनका अनुसार बाढीजन्य विपद्को दृष्टिले धनुषाको पाँच पालिका मध्यम जोखिममा र छ पालिका न्यून जोखिममा छन् । जिल्लाको जनकपुरधाम उपमहानगरापालिका, गणेशमान चारनाथ नगरपालिका, धनुषाधाम नगरपालिका, विदेह नगरपालिका र औरही गाउँपालिका बाढीजन्य विपद्को दृष्टिले मध्यम जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समिति धनुषाले जनाएको छ ।

यस्तै जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका, मिथिला विहारी नगरपालिका, मिथिला नगरपालिका, लक्ष्मीनियाँ गाउँपालिका, बटेश्वर गाउँपालिका, हंसपुर गाउँपालिका न्यून जोखिममा रहेको छ । कमला खोला, जमुना खोला, औरही खोला, बहरी खोला, बसही खोला र जलाद खोलामा आउने बाढीका कारण बर्सेनि ठूलो धनजनको क्षति पुर्याउँदै आएको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए ।

अघिल्लो वर्ष विपद्का कारण धनुषामा चार जनाको मृत्यु भएको भएको थियो भने करिब रु डेढ करोड मूल्य बराबरको धनमाल क्षति भएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ । विपद्मा परेर मृत्यु भएका चारै जनाको परिवारलाई रु एक लाखको दरले राहत वितरण गरिसकेको धनुषाका सहायक प्रजिअ भण्डारीले बताए । यस्तै अघिल्लो वर्षको असिना पानी, हावाहुरी तथा बाढीबाट प्रभावित धनुषाको मिथिला नगरपालिका र बटेश्वर गाउँपालिकाका २२१ घर परिवारलाई दुई बण्डलका दरले जस्तापाता वितरण गरिएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।

मनसुनजन्य प्रतिकार्यसम्बन्धी कृत्रिम अभ्यास

बाढीजन्य प्रकोपका कारण बर्सेनि हुने धनजनको क्षतिलाई न्यूनीकरण गर्ने उद्देश्यले जनकपुरधाममा मनसुनजन्य प्रतिकार्यसम्बन्धी कृत्रिम अभ्यास गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति धनुषाको आयोजना तथा धनुषाको क्षीरेश्वरनाथ नगरपालिकास्थित नेपाली सेनाको श्रीनाथ गणको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले मनसुनजन्य प्रतिकार्यसम्बन्धी कृत्रिम अभ्यास गरेका हुन् ।

जनकपुरधामस्थित गङ्गासागर पोखरीलाई जिल्लाका मुख्य नदीको प्रतिकात्मक रुपमा चार भागमा विभाजित गरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको टोलीले बोडिङ, लाइफ ज्याकेटलगायतको सामग्रीको सहायतामा विपद्मा परेकाको उद्धारसम्बन्धी कृत्रिम अभ्यास गरेको थियो । विपद्का समस्या पीडितलाई कसरी उद्धार गर्ने, बाढीमा पसेकालाई उद्धार गरेर सुरक्षित स्थानमा कसरी लैजाने, घाइतेको प्राथमिक उपचार कसरी गर्ने, उद्धारका क्रममा सुरक्षाकर्मी आफू कसरी सुरक्षित हुने र विपद्का बेला के के कुरामा ध्यान दिनेलगायतका विषय वस्तुलाई समेटेर सुरक्षाकर्मीले विपद् पूर्वाभ्यास प्रस्तुत गरेका थिए ।

मनसुनजन्य प्रतिकार्यसम्बन्धी कृत्रिम अभ्यास कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले विपद् कसैलाई सोधेर वा भनेर नआउने भएकाले विपद्को समयमा सचेत भई त्यसबाट हुन सक्ने क्षतिलाई कम गर्न सकिने बताए । रासस

प्रतिकृया दिनुहोस्