News Portal

आज कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४४औँ स्मृति दिवस मनाइँदै

रातोपोस्ट संवाददाता
३५९ पटक

काठमाण्डाैँ ७ श्रावण । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४४ औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विसं १९८१ असार १५ गते रामेछापको भँगेरीमा पुष्पलालको जन्म भएको थियो ।नेपाली क्रान्तिका सिद्धान्तकारका रूपमा परिचित पुष्पलालले आफ्नो जीवनभर नागरिकको स्वतन्त्रताका लागि सङ्घर्ष गर्नुभएको थियो ।

पुष्पलालले २००६ साल वैशाख १० गते नरबहादुर कर्माचार्य, निरन्जनगोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठसँग मिलेर नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्नुभएको हो । उहाँले स्थापना गर्नुभएको नेकपा विभिन्न चरणमा फुटेर विभिन्न कम्युनिस्ट पार्टी बनेका छन् । उहाँले विश्व कम्युनिस्ट घोषणापत्रलाई २००५ सालमा नेपालीमा अनुवाद गरी प्रकाशन गर्नुभयो ।२०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले सैनिक ‘कु’ गरेर प्रजातान्त्रिक बहुदलीय व्यवस्थालाई अपदस्त गरी निरङ्कुश व्यवस्थाको स्थापना गरेपछि राजनीतिक दलहरूमाथि प्रतिबन्ध लागेको थियो । पुष्पलालसहितका नेता भारतमा निर्वासित हुनुपरेको थियो ।

नेपालमा कम्युनिस्ट पार्टीमार्फत नागरिकका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यकासाथ नेकपा स्थापना गर्नुभएका पुष्पलालको २०३५ साल साउन ७ गते निधन भएको थियो । नेपाली कम्युनिस्ट आन्दोलनले ७३ वर्ष पार गरिसक्दासम्म पनि नेपाली क्रान्ति अझै सम्पन्न हुन नसकेको टिप्पणी हुँदै आएको छ । लामो समयदेखि नेपाली कम्युनिस्ट आन्दोलन विभाजित अवस्थामा छ ।

प्रतिकृया दिनुहोस्