News Portal

मेचीनगरमा जेठ २६ गतेदेखि ६२ देखि ६४ वर्ष उमेरका जेष्ठ नागरिकलाई कोभिड खोप लगाइँदै

रातोपोस्ट संवाददाता
५८० पटक

झापा, २४ जेठ । कोरोना भाइरस कोभिड–१९ विरुद्धको भेरोसेल खोप मेचीनगरमा जेठ २६ गते बुधबारदेखि लगाइने भएको छ । चिनबाट अनुदान स्वरुप प्राप्त भएको भेरोसेल खोप बुधबारदेखि लगाउने तयारी भइ रहेको मेचीनगर स्वास्थ्य शाखा प्रमुख रामनायण यादवले बताए ।

मेचीनगरका रहेका स्वास्थ्य केन्द्रहरुमार्फत ६२ बर्षदेखि ६४ बर्षसम्मका नागरिकहरुका खोप लगाइने यादवले जानकारी दिए । सो उमेर साथै अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मी, चिकित्सकहरुलाई खोप लगाइने यादवले बताए । यसका साथै यस अघि जिल्ला बाहिर रहेर भेरोसेलको पहिलो डोज लगाएका नागरिकहरुका लागिसमेत परिचय पत्रका आधारमा खोप लगाइने छ ।

मेचीनगरमा रहेका प्राथमिक स्वास्थ्य केन्द्रहरु वडा नम्बर ४ स्थित बाहुनडाँगी, वडा नम्बर ६ स्थित काँकरभिट्टा, वडा नम्बर १० स्थित धु्लावारी, वडा नम्बर ११ स्थित धाइजन, वडा नम्बर १४ स्थित दुवागढी र वडा नम्बर १५ स्थित ज्यामिरगढी केन्द्रमार्फत खोप लगाइने व्यवस्था मिलाइएको शाखा प्रमुख यादवले बताए ।

खोप लगाउन आउँदा अनलाइनमार्फत भरिएको अनलाइन फारम दर्ता नम्बर र नागरिकता वा सरकारी परिचय पत्र साथमा लिएर आउनु पर्ने यादवले जानकारी दिए । झापामा भेरोसेलको १३ हजार पहिलो डोज खोप प्राप्त भएको स्वास्थ्य कार्यालय भापाका कोभिड फोकल पर्सन जीवन चौलागार्ईले जानकारी दिए ।

फोकल पर्सन चौलागाईका अनुसार लक्षीत जनसंख्याको आधारमा झापाका विभिन्न पालिकाहरुलाई खोपको मात्रा छुट्याइएको छ । सरकारले भेरोसेल खोपलाई पहिलो चरणमा ६२ देखि ६४ बर्ष उमेर समूह र अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मीहरुलाई मात्र प्रदान गर्ने निर्णय गरेको छ । सोही निर्णयको आधारमा झापामा समेत खोप लगाइने फोकल पर्सन चौलागाईंले बताए ।

प्रतिकृया दिनुहोस्