News Portal

वीपी स्वास्थ विज्ञान प्रतिष्ठानमा भएको भ्रष्टाचार र अनियमितता छानबिन गर्न विप्लव नेकपाकाे माग

रातोपोस्ट संवाददाता
६७१ पटक

सुनसरी ,२५ जेठ। नेत्र विक्रम चन्द “विप्लव ” नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सुनसरीले धरान स्थित विपि काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको आर्थिक अनियमितता , भ्रष्टाचार र बेथितिकाे सत्यतथ्य छानबिनकाे माग गर्दै दोषी उपर कडा कारबाहीको माग गरेको छ ।

सुनसरी जिल्ला इन्चार्ज दिपेश राइले आज एक प्रेस वक्तव्य जारी गर्दै पूर्वाञ्चलकै हकमा स्वास्थ्य क्षेत्रको एक अभिभावक र आदर्श शिक्षण अस्पतालको रुपमा स्थापित भएर १०औं हजार दक्ष स्वास्थ्यकर्मीहरु उत्पादन गरिसकेको धरान स्थित बि.पि.कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान (BPKIHS)आज आर्थिक अनियमितता, भ्रष्टाचार र बेथितिले आफैं थलापरेको विषयले नेपाल कम्युनिष्ट पार्टीको ध्यानाकृष्ट भएको जानकारी गराएका छन्,।

राज्यले जनताको मौलिक हकको रुपमा अंगिकार गरिएको स्वास्थ्य क्षेत्र आफैंमा जबाफदेहि भएर सिंगो नागरिकलाई स्वस्थ राख्ने कर्तव्य प्रति दृढ र निष्ठावान रहनुपर्ने स्वास्थ प्रतिष्ठान आज उक्त जिम्मेवारीलाई लात मार्दै हजारौं नागरिकहरुको असह्य ब्यथा र चित्कारलाई वेवास्ता गरेर अनियमितता,भ्रष्टाचार र बेथितिको पराकाष्टामा पौडिरहेको कुरा स्वयं कार्यालयले जारी गरेको आन्तरिक परिपत्रले स्पष्ट पारेकाे वक्तव्यमा उल्लेख गरिएको छ।

वक्तव्यमा भनिएको छ,- नियम बिपरितका संझौता,खरिद र निर्माण जस्ता काममा बेथितिले गर्दा बस्तुको गुणस्तरमा आएको ह्रासले आमनागरिक ठगिएको छ भने प्रतिष्ठानका नेतृत्व कर्तब्य च्युत हुँदै ठगिधन्दामा लागिरहेको छ भन्ने नागरिक आवाजलाई सम्बन्धित निकायले कतैबाट चित्तबुझ्दो गरि सम्बोधन गर्न सकिरहेको छैन। अस्पतालको आकस्मिक सेवा होस् वा दैनिक OPD सेवा एवम् पछिल्लो कोभिड -१९ को अस्पताल ब्यवस्थापन सबै क्षेत्र अस्तब्यस्त रुपमा रहेको दृश्य कसैको नजरबाट छिप्न सकेको छैन। भ्रष्टचार र वेरुजुको सन्दर्भमा पटक पटकको अख्तियार उजुरीमा समेत तथ्यपरक छानविन र कार्वाही हुन नसकेको यथार्थले नागरिकलाई आन्दोलित बन्न बाध्य पारिरहेको छ। यी तमाम वेथितिहरुलाई राज्यले समय छँदै नियन्त्रण गरेर नियम र विधिसम्मत अगाडी बढाउन समेत वक्तव्यमा भनिएको छ ।

आज सम्म दृश्य र अदृश्य रुपमा भएको भ्रष्टाचार लाई संबंधित निकायले यथाशीघ्र छानवीन गरि दोषी उपर कार्वाही गरि कानुनि राज्यको महसुस आम जनतालाई गराउन समेत नेकपाले आग्रह गरेको छ। विशेष गरि प्रतिष्ठानका उपकुलपति र निर्देशक जस्तो महत्वपुर्ण जिम्मेवारीमा बसेर नागरिकको थोपा-थोपा रगतलाई द्रव्य मुहान बनाउने निकृष्ट हर्कत नेपाली जनता र नेपाल कम्युनिष्ट पार्टी लाई रत्तिभर मान्य नहुने समेत वक्तव्यमा भनिएको छ।

वक्तव्यकाे अन्त्यमा भनिएकाे छ – नागरिक माथिको यसप्रकारको गम्भीर घात कुनै पनि हालतमा टुलुटुलु हेरेर बस्न हामीलाई आफ्नो कर्तव्यले कदापि दिँदैन। प्रतिष्ठाको रुपमा रहेर तमाम पुर्वेली जनताको बिश्वासको रुपमा स्थापित स्वास्थ्य बिज्ञान प्रतिष्ठान लाई रिति, थिति र पारदर्शी अवस्थामा फर्काउन आम धरानबासी नागरिक समाज, राजनैतिक पार्टीहरु, पत्रकार लगायत सबैले दवाब दिएर कानुनि दायरामा ल्याउनको लागि हाम्रो पार्टी विषेश अपिल गर्दछ।

प्रतिकृया दिनुहोस्