News Portal

झापामा आजदेखि ६२ देखि ६४ बर्षका नागरिकलाई भेरोसेल खोप लगाइँदै

रातोपोस्ट संवाददाता
७५१ पटक

झापा, २६ जेठ । झापामा आजदेखि कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउन सुरु गरिएको छ । झापामा यस पटक चिनिया खोप भेरोसेल १३ हजार भाईल उपलब्ध भएकोले सोही आधारमा ६२ वर्षदेखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकहरूलाई लगाइने लक्ष्य लिइएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । खोप लगाउन आउँदा उमेर खुल्ने प्रमाणपत्रसहित आउन स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ । चिनिया भेरोसेल खोपको पहिलो डोज लगाएकालाई दोस्रो डोज र नलगाएकालाई पहिलो डोज लगाइनेछ । यो खोप पहिलो मात्रामा लगाएको ४ हप्तापछि दोस्रो मात्रा लगाउनुपर्ने बताइएको छ ।

झापामा ६२ वर्षदेखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकहरूको सङ्ख्या करिब २० हजार रहेको अनुमान गरिएको छ । तर, खोप १३ हजार मात्र आएको छ । जिल्लाका सबै पालिकाहरूलाई मिलाएर खोप उपलब्ध गराइएको जनाइएको छ। कूल जनसङ्ख्याको १.७५ प्रतिशत त्यस उमेर समूहको भएको जनाइएको छ । बिर्तामोड नगरपालिका १३५० भाइल खोप आएको नगरपालिकाका सिनियर अहेब दीपक सापकोटाले बताए । सरकारले मङ्गलवारदेखि मुलुकभर कोरोनाविरुद्धको खोप अभियान चलाएको हो  ।

चीनबाट अनुदानमा प्राप्त १० लाख भेरोसेल खोप काठमाडौँ उपत्यकामा ६० देखि ६४ र बाहिर ६२ देखि ६४ वर्ष उमेर समूहकालाई लगाउन लागिएको हो । भद्रपुरमा पृथ्वीनगर स्वास्थ्य चौकी, नेपाल परिवार नियोजन सङ्घको कार्यालय ज्ञानेचोक, मेची अञ्चल अस्पताल भद्रपुर, १० नम्बर वडा कार्यालय चन्द्रगढी र चन्द्रगढी स्वास्थ्य चौकीमा बुधवार बिहान साढे १० बजेदेखि ४ बजेसम्म खोप लगाइने कार्यक्रम रहेको नगरपालिकाका स्वास्थ्य शाखाका फोकल पर्सन मनोज भट्टराईले जानकारी दिए । बिहीबार मेची अस्पतालमा मात्र खोप लगाइने उनको भनाई छ ।

प्रतिकृया दिनुहोस्